नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी लालबाबु गिरीविरुद्ध आरोप पत्र दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

गिरीले बढुवाका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको छ। गिरीले सन् १९८८ मा भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक विद्यालय परीक्षा (एसएलसी–भारत) उत्तीर्ण गरेको दाबी गरे पनि उक्त प्रमाणपत्र  नक्कली रहेको खुलेको हो।

अख्तियारका अनुसार अनुसन्धानमा बिहार विद्यालय परीक्षा समितिको अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिएको र गिरीको दाबी गरिएको रोल कोड ५५०१ रोल नम्बर ७१८ अभिलेखसँग नमिल्ने पाइएको हो। सोही नक्कली एसएलसी प्रमाणपत्रका आधारमा उनले मिति २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा पी.सी.एल. र मिति २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट नर्सिङमा पोस्ट बेसिक स्नातक को योग्यता प्राप्त गरेको आयोगले जनाएको छ। 

त्यसैगरी, ती शैक्षिक प्रमाणपत्र पेस गरी  नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिई क्रमशः बढुवा हुँदै हालको एसएसपी पदसम्म पुगेको, साथै विभिन्न तालिम, लाभ र सुविधासमेत लिएको देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।