‘रेट्रो इन्स्योरेन्स’ मा चार महिनामै बाहिरियो झन्डै चार अर्ब, नेपालमा राख्न किन सकिएन ? 


काठमाडौं – नेपालबाट रेट्रो इन्स्योरेन्स (रेट्रो सेसन) व्यापारमा अर्बौं रकम बाहिरिने गरेको छ। पुनर्बीमा कम्पनीहरूले आफूले लिएको जोखिमलाई अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग पुनः बीमा गराउँदै आइरहेका छन्। अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग पुनः बीमा गराउँदा नेपाली बीमा कम्पनीहरूले प्रिमियमको रूपमा अर्बौं रुपैयाँ विदेश पठाउने गरेका हुन्छन्।

नेपालका पुनर्बीमा कम्पनीहरू नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सले ठुला जोखिमहरू प्राकृतिक प्रकोप, ठुला व्यापारिक तथा औद्योगिक जोखिम ‘कभर’ गर्न आफ्नो क्षमता भन्दा बढीको बीमा विदेशी पुनर्बीमा कम्पनीहरूसँग गरेका हुन्छन्। नेपाली बीमा कम्पनीहरूले बढी रकम रेट्रोका लागि पठाउने भएकाले इन्स्योरेन्स सेवा व्यापारमा बढी रकम गएको देखिन्छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा इन्स्योरेन्स व्यापारमा नेपालले ३ अर्ब ९० करोड ५ लाख बढी बाहिरिएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार कात्तिकसम्म ४ अर्ब १३ करोड ५० लाख बीमा र पेन्सन सेवाहरूमा बाहिरिएको छ भने २२ करोड २० लाख मात्रै भित्रिएको छ।

नेपालको बीमा क्षेत्रले अन्तर्राष्ट्रिय व्यापार विशेष गरी सेवा व्यापारमा ठुलो रकम बाहिर पठाउनुको मुख्य कारण नै रेट्रो इन्स्योरेन्स हो। सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीहरूको मुख्य उद्देश्य पनि स्वदेशी तथा विदेशी बीमकहरूले गरेको बीमा तथा पुनर्बीमा व्यवसायको आफूले ग्रहण गरेको बीमा तथा पुनर्बीमामा आफूले धारण गर्ने भन्दा बढी जोखिम रकम पुनर्बीमा (रेट्रोसेसन) गराउने नै हो।

नेपाली पुनर्बीमा कम्पनीहरूले बाहिरका बीमा कम्पनीहरूबाट समेत पुनर्बीमा व्यवसाय भित्राउने र पुनर्बीमाको माध्यमबाट पुनर्बीमा सम्बन्धी सुविधा प्रदान गरी आर्थिक विकासमा सहयोग गर्दै आइरहेका छन्। नेपाल जस्तो प्राकृतिक विपद् जोखिमयुक्त देशमा विभिन्न विपद्बाट हुने क्षति अत्यधिक ठुलो हुन सक्ने हुँदा  घरेलु पुनर्बीमा कम्पनीहरूले लिएको जोखिमको अतिरिक्त भागलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन रेट्रोसेसन आवश्यक पर्दछ।

नेपालको पुनर्बीमा कम्पनीले यहाँको सम्पूर्ण जोखिम आफैँले मात्र वहन गर्न सक्दैनन्। भविष्यमा आइपर्ने ठुला विपत्ति र त्यसको दाबी भुक्तान गर्नका लागी जोखिमको आधा भाग अन्तर्राष्ट्रिय बजारमा रेट्रो गर्ने गर्दछन्। सर्वसाधारणले बीमा कम्पनीसँग बीमा गरे जसरी नै बीमा तथा पुनर्बीमा कम्पनीले पनि आफ्नो जोखिम कम गर्न पुनर्बीमा गर्छन्।

नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा बीमा कम्पनीले जोखिमलाई देशमा मात्रै केन्द्रीकृत गरे नेपालमा ठुलो विपत्ति आउँदा नेपाली पुनर्बीमा कम्पनीहरूले क्षतिपूर्ति तिर्न नसक्ने हुँदा बीमा बजार जोगाउन र सुरक्षित रहनका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूसँग पुन पुनर्बीमा गर्नु आवश्यक रहेको बताउँछन्। उनले नेपालबाट गएको पैसालाई बाहिरिएको हिसाबमाभन्दा पनि सुरक्षाका लागि गरिएको लगानीको रूपमा हेर्नुपर्ने बताए। 

‘नेपालले अन्तर्राष्ट्रिय बजारबाट ‘ट्रिटी बिजनेस’ वा सामान्य किसिमका पुनर्बीमा मात्र ल्याउने गरेको छ। जुनमा प्रिमियम आम्दानी कम हुन्छ। जसले बाहिरबाट नेपाल आउने गरेको पैसा कम देखिएको हो,’ उनले बैंकिङ्ग समाचारसँग भने,‘ नेपालबाट बाहिरिँदा सुरक्षाका लागि ठुलो रकम प्रिमियमका रूपमा तिर्नुपर्ने भएकाले अन्तर देखिन्छ।’ यो आयात निर्यातको सामान्य व्यापार जस्तो नभई यसमा नाफा–घाटा भन्दा पनि जोखिम व्यवस्थापन कसरी गरिएको महत्त्वपूर्ण हुने यस क्षेत्रका विज्ञ बताउँछन्।

तथ्यांकमा हेर्दा बढी पैसा बाहिर गएको देखिए पनि भविष्यमा आउने ठुलो आर्थिक भारलाई सुरक्षित गर्ने उनीहरूको बुझाई छ। नेपाल बीमा प्राधिकरणले पनि जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग सम्झौता गर्नुपर्ने नीति नै बनाएको छ। नियामक निकायको मापदण्ड पूरा गर्न पनि पुनर्बीमा कम्पनीहरूले रेट्रो गरिरहेका छन्। 

रेट्रोसेसनसम्बन्धी के छ व्यवस्था ? 

बीमा नियमावली २०८१ ले पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्था गरेको छ। नियमावलीले बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा आफूले धारण गर्न नसक्ने अंशको पुनर्बीमा गराउनु पर्ने उल्लेख गरेको छ। पुनर्बीमा व्यवसाय गर्ने बीमकल प्रत्येक वर्ष आफूले गरेको पुनः पुनर्बीमा रेट्रोसेसन उचित र पर्याप्त रहे नरहेको सम्बन्धमा बीमाङ्गीबाट जाँच गराउनु पर्ने, व्यवसायमा हुने जोखिम, व्यवसायको प्रकृति, जोखिम धारण क्षमता तथा पुनर्बीमकको क्रेडिट रेटिङ्ग समेतलाई आधार मानी फेरि पुनर्बीमा (रेट्रोसेसन) गर्नुपर्ने, रेट्रोसेसन गर्नुपूर्व पुनर्बीमकको प्राविधिक तथा वित्तीय क्षमताको विश्लेषण गर्नुपर्ने उल्लेख छ।

यस्तै, बीमकले जारी गर्ने प्रत्येक बीमालेखले रक्षावरण गरेको जोखिम आफूले धारण नगरी शतप्रतिशत पुनर्बीमा गराउनु नहुने र पुनर्बीमा व्यवसाय गर्ने बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको अंशको रेट्रोसेसन गराउनु पर्ने उल्लेख गरेको छ।