अपि पावर कम्पनी बोलायो साधारण सभा, हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्ने


काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा पुस २९ गते कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौंमा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, हकप्रद शेयरबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावरद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपुँजी लगानी गर्ने, सोसम्बन्धी कार्य गर्न र अपि होल्डिङ्गस कम्पनीमा हालसम्म भएको स्वपुँजी लगानी अनुमोदन तथा थप स्वपुँजी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ।

सो सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।