काठमाडौं – नेपालका बीमा कम्पनीहरूले विदेशमा शाखा सञ्चालन गर्न चासो देखाएका छन्। अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजनासँगै विदेशमा शाखा खोल्न चासो देखाएका हुन्। नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाली कम्पनीहरूको पुँजी वृद्धि भएकाले विदेशमा शाखा खोल्न दिने व्यवस्था लागू गरेका थिए। सोही व्यवस्था बमोजिम बीमा कम्पनीहरूको पुँजी पर्याप्त भएपछि प्राधिकरणले विदेशी शाखा खोल्न अनुमति दिने नीति अपनाएको हो।
०७९ चैतमा नेपाल बीमा प्राधिकरणले बिमकको शाखा कार्यालय सञ्चालनसम्बन्धी निर्देशिका ०७९ जारी गर्दै नेपाली बीमा कम्पनीहरूले विदेशमा पनि शाखा सञ्चानल गर्न पाउने व्यवस्था गरेको हो। प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो कार्यालयको शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्ने व्यवस्था छ।
तर, सबै बीमा कम्पनीले भने विदेशमा शाखा सञ्चालन गर्न पाउँदैनन्। जसका लागी प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गरेको र प्राधिकरणबाट कुनै कारबाही नभएको छ महिना पूरा भइसकेको हुनुपर्नेछ। यस्तै, प्राधिकरणले लाभांश, मुनाफा, पूँजी नेपालमा भित्र्याउन वा फिर्ता गर्न सकिने नीतिगत व्यवस्था भएको मुलुकमा मात्रै बीमा कम्पनीहरूलाई शाखा सञ्चालनको अनुमति दिने गर्छ। जसले नेपाली बीमा कम्पनीहरूको पूँजी नेपालबाट बाहिरिने जोखिम कम गर्छ।

प्राधिकरणमा आउन थाल्यो कम्पनीबाट आवेदन
कम्पनीहरूले बीमा प्राधिकरणमा आवेदन नै दिएका छन्। बीमा प्राधिकरणकाअनुसार हालसम्म ५ वटा बीमा कम्पनीले विदेशका शाखा सञ्चालनका लागी आवेदन दिएका छन्। जसमा हाल सञ्चालनमा रहेका दुईवटै पुनर्बीमा कम्पनीहरू नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स रहेका छन्। यस्तै, जीवन बीमा कम्पनीले पनि विदेशमा शाखा सञ्चालन गर्न चाहेका छन्।
प्राधिकरणकाअनुसार सन नेपाल लाइफ, नेपाल लाइफ र सानिमा रिलायन्स लाइफले विदेशमा शाखा सञ्चालन गर्न प्राधिकरणमा आवेदन दिएका हुन्। आवेदन दिएका सबै बीमा कम्पनीलाई प्राधिकरणले पहिलो चरणको अनुमति प्रदान गरिसकेको प्राधिकरणको नियमन महाशाखाका निर्देशक शाम्भराज लामिछानेले बताए।
उनकाअनुसार सैद्धान्तिक सहमति प्राप्त गरेपछि बीमकले विदेशमा शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्नको लागि सम्बन्धित मुलुकले तोकेका मापदण्ड अनुरुप अनुमति प्राप्त भएपछि प्राधिकरणले बाँकी प्रक्रिया अघि बढाउनेछ। यस्तै, बीमा प्राधिकरणले निवेदन जाँचबुझ गरी कार्यालय खोल्न दिने नदिने विषयमा प्राधिकरणले निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था छ। बीमा कम्पनीहरूले सम्पूर्ण कागजात उपलब्ध गराएपछि प्राधिकरणको नियमन विभागले नै अन्तिम स्वीकृति प्रदान गर्छ।
खर्चिलो विदेशमा शाखा सञ्चालन
नेपालका बीमा कम्पनीहरूले विदेशमा शाखा सञ्चालन गर्ने योजना बनाउँदा ठूलो आर्थिक भार र नियामकीय चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। बीमा प्राधिकरणले विदेशी शाखा खोल्न पहिलो चरणको स्वीकृति दिइसके पनि विदेशमा शाखा सञ्चालन अत्यधिक खर्चिलो रहेको बीमा कम्पनीहरूले बताएका हुन्। विदेशमा शाखा सञ्चालन गर्नका लागि विदेशी नियामकको अनुमति, बढी लगानी, कर्मचारी, कानुनी तथा पुनर्बीमा सम्बन्धि व्यवस्थाका कारण विदेशमा खोलिने शाखामा बढि खर्च हुने देखिएका हो।
प्राधिकरणबाट पहिलो चरणको अनुमति समेत लिइसकेका बीमा कम्पनी पनि विदेशमा शाखा खोल्दा लाग्ने बढी खर्चले पछि हटेका छन्। बीमा कम्पनीबाट विदेशमा शाखा सञ्चालन गर्न पहिलो चरणको अनुमति प्राप्त गरेका एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतकाअनुसार अनुमति पाएपनि विदेशमा शाखा सञ्चालन खर्चिलो रहेका कारण पछि हटेका छन्।
विदेशमा शाखा खोल्न यस्तो छ व्यवस्था
विदेशमा शाखा खोल्न इच्छुक बीमकको कम्पनी सञ्चालक समितिले निर्णय गरेको हुनुपर्नेछ। यस्तै, शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्नका लागि प्रस्तावित स्थानको बीमा व्यवसायको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रस्तावित व्यवसायको योजना, तुलनात्मक लागत लाभ विश्लेषण, व्यवसायिक रणनीति, सूचना प्रविधि व्यवस्थापन र आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन सम्बन्धी विवरण, शर्त पूरा गरेको भनी बीमकले गरेको स्वघोषणा गर्नुपर्नेछ।
बीमा प्रधिकरणबाट सैद्धान्तिक सहमति प्राप्त गरेपछि बीमकले विदेशमा शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न मापदण्ड अनुरुप सहमति प्राप्त भएपछि बीमकले अन्तिम स्वीकृतिको लागि त्यस्तो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न उपयुक्त देखिएको र त्यस्तो कार्यालय सञ्चालन गर्न बीमक सक्षम देखिएको सम्भाव्यता अध्ययन प्रतिवेदन, शाखा, सम्पर्क तथा प्रतिनिधि कार्यालय सञ्चालनको गर्न तोकिएको पूँजी (विदेशी मुद्रामा) सम्बन्धित मुलुकमा लगानी गर्न प्रचलित कानून, निवेदन तथा कागजात अध्ययन गरी बिमकको शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गर्न सक्नेछ।
यतिमात्रै नभई बीमा प्राधिकरणले बिमकको शाखा स्थापनालाई व्यवस्थित बनाउन बीमा नियमावली २०८० मा पनि यस व्यवस्थालाई समावेश गरेको छ। प्राधिकरणले जारी गरेको निर्देशिकामा बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नका लागि उपनियममा व्यावसायिक योजना, लाभ लागत तथा जोखिम विश्लेषण सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन, कार्यालय स्थापनाको लागि आवश्यक अनुमानित लागत, प्राधिकरणले तोकेको न्यूनतन् सोल्भेन्सी मार्जिन कायम गरेको विवरण तथा कागजात पेस गर्नुपर्नेछ।
कार्यालय खोल्न प्रस्ताव गरिएको देशसँग नेपालको द्विपक्षीय सम्बन्ध रहेको हुनुपर्ने व्यवस्था छ। यता, प्राधिकरणले बीमाको पहुँच विस्तार गर्न आवश्यकताअनुसार भने बीमकलाई शाखा कार्यालय खोल्न निर्देशन दिन सक्ने व्यवस्था छ।





About Us
प्रतिक्रिया