काठमाडौं – बेला–बेलामा विवादमा पर्दै आएको धनुषास्थित जानकी मेडिकल कलेज फेरि एक पटक ठगी प्रकरणमा मुछिएको छ। प्रभु म्यानेजमेन्टसँग जोडिएको ठगी प्रकरणको अनुसन्धानका क्रममा उक्त मेडिकल कलेजको संलग्नता देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको दायरा विस्तार गरेको हो।
सीआईबीले अघि बढाइरहेको प्रभु बैंकसँग सम्बन्धित कर्जा अपचलन तथा घोटाला प्रकरणमा अनुसन्धान गहिरिँदै जाँदा जानकी मेडिकल कलेज पनि अनुसन्धानको घेरामा परेको छ। यससँगै, यस प्रकरणमा संलग्न व्यक्ति र संस्थामाथि हुने छानबिन थप व्यापक बन्दै गएको सीआईबी स्रोतले जनाएको छ।
यसअघि जानकी मेडिकल कलेजसँग आबद्ध रामजानकी हेल्थ फाउन्डेसनलाई प्रवाह गरिएको कर्जाबारे ०७८ असोज १२ गते नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको थियो। उक्त उजुरीपछि उपलब्ध कागजातका आधारमा प्रारम्भिक तहमा छानबिन अघि बढाइएको भए पनि यस विषयमा सीआईबीले त्यतिबेला विस्तृत अनुसन्धान सुरु गरेको थिएन।
तर, पछिल्लो समय प्रभु बैंकमा भएको कर्जा अपचलनसम्बन्धी अनुसन्धान पुनः तीव्र बनाउँदै लैजाँदा सोही सिलसिलामा जानकी मेडिकल कलेज पनि सीआईबीको अनुसन्धानको दायरामा परेको हो। अनुसन्धानको क्रममा कर्जा प्रवाह, व्यवस्थापन र त्यससँग जोडिएका वित्तीय कारोबारको विस्तृत अध्ययन भइरहेको जनाइएको छ।
सीआईबीले आवश्यक प्रमाण र विवरण संकलन गर्दै थप छानबिन अघि बढाइरहेको जनाएको छ। अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको छ। बैंकबाट कलेजले प्रक्रिया नै पुरा नगरी कर्जा प्रवाह गरेको र धितोले नै धान्न नसक्ने कर्जा लिएको सीआईबीले जनाएको छ। साथै, सो कर्जाको दुरुपयोग समेत गरेको सीआईबीको भनाई छ। यसअघि नै अनुसन्धान सुरु भएको जानकी मेडिकल कलेजलाई ऋण दिएको विषयमा सीआईबीले थप अनुसन्धान बढाइएको थिएन।
त्यस्तै, आर्थिक वर्ष ०७७/७८मा राष्ट्र बैंकले प्रभु मनि ट्रान्सफर र प्रभु बैंकबीच कारोबार भएको पाइएकाले गर्दा देवीप्रकाश भट्टचन, शंकर कालिकोटा, रमेशसिंह खड्का, अम्बिका शर्मा लामिछाने, पुष्पबहादुर प्रधान, दक्ष पौडेल, अशोक शेरचनलाई कारबाही गरेको थियो।
खासगरी, ०७१ को साउनमा राम जनकी हेल्थ फउण्डेशनद्वारा सञ्चालित जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रकाश पाण्डेविरुद्ध प्रहरीमा उजुरी परेको थियो। कलेजमा अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थीहरूले ०७१ साउनमा सञ्चालकहरू माथि ठगी मुद्दा दर्ता गरेका थिए। मुद्दामा कारबाही प्रक्रिया अगाडि बढे लगत्तै उनीहरू फरार थिए। सोही क्रममा ०७३ सालको ज्येष्ठमा धनुषा प्रहरीले कलेज सञ्चालक समितिका पूर्व अध्यक्ष ओपी पाण्डे तथा पूर्व शेयर सदस्यहरू समीर ढुङ्गेल र रामेश्वर साहलाई गरेको थियो।
चिकित्सा शास्त्रमा अध्ययनरत कलेजका ३ सय ७४ विद्यार्थीसँग २५ लाखदेखि ४० लाख रुपैयाँसम्म रकम लिएपछि कलेज बिक्री गरेर फरार भएको सञ्चालकहरूमाथि आरोप लागेको थियो। साथै, पुरानो सञ्चालक समितिले कलेजको ८७ प्रतिशत सेयर धनबहादुर शेरचन, हरिमान लामा र हरिकृष्ण भट्टचनलाई बिक्री गरेको थियो। २०७२ सालमा हरिमान लामा, हरिकृष्ण भट्टचन र धनबहादुर शेरचनले उक्त कलेजको शेयर खरिद गरेका थिए।
उनीहरूले प्रभु बैंकबाट कर्जा लिएर कलेजमा लगानी गरेका थिए। सो समयमा बैंकको जानकी मेडिकल कलेजको नाममा १ अर्ब ५० करोड लगानी गरेको थियो। तर, उक्त रकमको साँवा ब्याज भने बैंकलाई आएको थिएन। यसअनुसार ‘बैकिङ्ग कसुर ऐन, २०६४’ बमोजिम उनलाई सजाय हुनु पर्ने थियो। तर उनीहरू शक्ति र प्रभावका आडमा कानुनी दायराबाट बाहिर नै रहे । तर, उनीहरूविरुद्ध उजुरी नै नपरेको भने चाहिँ होइन। उनीहरूविरुद्ध उजुरी परे पनि अनुसन्धानको दायरामा कहिले पनि परेनन्।
यही क्रममा यसअघि प्रभु म्यानेजमेन्टको ठगी प्रकरणमा पक्राउ गरी पक्राउ गरिएको १५ दिन पछि थुनामुक्त भएका देवीप्रकाश भट्टचन पनि यस घटनामा पुन पक्राउ पर्ने आशंका गरिएको छ। साथै, सीआईबीले पनि प्रभु म्यानेजमेन्टको ठगी प्रकरणको फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने क्रममा उनीलाई समेत प्रतिवादी बनाएर अनुसन्धानको फाइल पेस गरेको छ।





About Us
प्रतिक्रिया