रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने


काठमाडौं – रिलायन्स स्पिनिङ्ग मिल्स् लिमिटेडले आज देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्कासन गर्न लागेको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात् लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।