‘शेयर कर्निरिङ’ गर्दै लगानीकर्ता फसाउने ‘फाइनान्स आर्मी’का सेनापति अग्रवाल फेरी सीआईबीको फन्दामा

कर्पोरेट डेभलपमेन्ट बैंकसहित पोखरा फाइनान्सको शेयर मूल्यमा कृत्रिम वृद्धिको आरोप


काठमाडौं – ‘फाइनान्स आर्मी’का सेनापति दिपेन्द्र अग्रवाल दोस्रो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को फन्दामा परेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिने कसुरमा उनी पक्राउ परेका हुन्। उनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी उच्च मूल्यमा शेयर विक्री गरी कानून विपरित ४९ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको आरोपमाथि छानबीन गर्न सीआईबीले उनलाई फेरी पक्राउ गरेको हो।

उनले सामाजिक सञ्चालनमा फाइनान्स आर्मी नामक शेयर कर्नरिङ गर्ने समूहको नेतृत्व गर्दै आइरहेका थिए। सुरुमा आफूले शेयर किन्ने र फाइनान्स आर्मीमार्फत शेयर मूल्य वृद्धि गराउँदै लगानीकर्ता फसाउँदै आएका थिए । यही आरोपमा यसअघि अग्रवाल गत साउन ५ पक्राउ परेका थिए।

पक्राउ परेको ६ महिना पछि पुन पक्राउ परेका हुन्। त्यस बेलामा उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरले आपराधिक लाभ र ठगी मुद्दामा काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। त्यसबेला अग्रवालमाथि करिब ६ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप लगेको थियो। यसअघि अग्रवाललाई काठमाडौं जिल्ला अदालतको अनुमतिमा हाजिरी जमानीमा रिहा गरिएको थियो।

काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई अनुसन्धान गर्न म्याद थप्न लग्दा अदालतले म्याद थप्न अस्वीकार गरेको थियो। त्यस्तै, अग्रवालले शेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएको आरोप लागेको छ।

उनीमाथि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स लगायतका कम्पनीहरुको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको सीआईबीले जनाएको छ। अध्यन प्रतिवेदनले पटक–पटक अग्रवालले शेयरमार्फत सोझा लगानीकर्तालाई फसाएको देखाएपनि धितोपत्र बोर्डले भने कारबाही अघि बढाएको थिएन। नेपाली शेयर बजारमा पछिल्ला वर्षहरूमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ।

सोही क्रममा शेयर बजार राम्रोसँग बुझेका व्यक्तिले नै ‘मार्केट’कोे दुरुपयोग गर्दै कृत्रिमरूपमा शेयर मूल्य बढाएको सरोकारवाला बताउँछन्। उनले शेयर बजारमा लगानी गर्ने चाहना राख्ने सर्वसाधारणलाई  भ्रममा पार्न उदेश्यले कृत्रिम रूपमा शेयर मूल्य बढाउने, झुटो कारोबार गर्ने र सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई भ्रममा पार्ने गतिविधिमा संलग्न रहेको सीआईबीले जनाएको छ। 

सीआईबीका अनुसार अग्रवालले कुनै कम्पनीको शेयर सस्तो मूल्यमा खरिद गरेपछि सामाजिक सञ्जाल प्रयोग गरी ती शेयरको मूल्य बढ्ने भनी गलत प्रचार गर्ने गर्थे। आफूले शेयर खरिद गरिसकेपछि अन्य लगानीकर्तालाई ‘अहिले किन्नुहोस्, मूल्य यति पुग्छ’ भन्दै झुटा आश्वासन दिने र मूल्य बढ्ने वातावरण सिर्जना गर्ने उनको शैली थियो। लगानीकर्ताले शेयर खरिद गर्न थालेपछि भने उनले आफ्नो शेयर उच्च मूल्यमा बिक्री गरेर नाफा उठाउने गरेको पाइएको छ।