शृङ्खलाबद्ध आक्रमणमा वित्तीय क्षेत्र

ऋणीको हर्कतले चूनौतीपूर्ण बन्दै ‘रिकभरी’, ‘फिल्ड’ खट्ने कर्मचारीलाई कालोमोसोदेखि पेट्रोल छर्कनेसम्म

आक्रमणकारीमाथि प्रहरी कारबाहीले मनोबल बढाउँछ – डीसीईओ बराल


काठमाडौं – मंसिरको अन्तिम साता सप्तरीको रुपनीमा ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणले बैंकिङ्ग क्षेत्रलाई पुनः एक पटक झस्काएको छ। बैंकबाट करोडौं ऋण लिएर समयमा नै सावाँ ब्याज नबुझाएपछि उठाउन जाने कर्मचारीमाथिको आक्रमणले पुनः एक पटक समग्र वित्तीय क्षेत्र नै तरंगित बन्यो। ज्योति विकास बैंकका कर्मचारी ऋणीको घरमा नै पुगेर सावाँ र ब्याज भुक्तानीका लागि सम्झाउँदा लगाइएको कालोमोसोसहितको दुर्व्यवहारले समग्र वित्तीय क्षेत्रलाई नै तंरगित बनाएको हो।

विगत लामो समयदेखि नै आक्रमणको सिकार भोगिरहेको वित्तीय क्षेत्रमा ज्योति विकास बैंक एउटा उदाहरण मात्रै हो। किनकि, पछिल्लो ३/४ वर्षको अवधिमा बैंकिङ्ग क्षेत्रले दर्जनौँ आक्रमण भोगिसकेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको भड्किलो अभिव्यक्तिहरूपछि बैंक तथा वित्तीय क्षेत्रमाथि आक्रमण गर्नेहरू बढेका छन्। र, समग्र बैंक तथा वित्तीय क्षेत्र नै असुरक्षित महसुस गर्दै तंरगित बनिरहेको छ।

खासगरी, घटनाका दिन ज्योति विकास बैंकको रुपनी शाखाबाट खटिएका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठ कर्जा असुलीको प्रक्रियामा जाँदा बलार्द चोकमा एक्कासि घेराहाली गरियो। उनीहरूलाई नियन्त्रणमा लिएर सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालि सञ्चालन भइरहेको स्थानसम्म पुर्‍याइयो, जहाँ कालो मोसो दल्ने, जुत्ताको माला लगाउने र फोटो–भिडियो बनाउने जस्ता अमानवीय व्यवहार गरिएको थियो। यस घटनाले बैंकका कर्मचारी फिल्डमा कति जोखिममा छन् भन्ने यथार्थ उजागर गर्यो।

योअघि एनआईसी एशिया, कृषि विकास बैंक, सिद्धार्थ बैंक लगायत वाणिज्य बैंकका विभिन्न स्थानका शाखाले समेत आक्रमणको सिकार खेपिसकेका थिए। जसमध्ये एनआईसी एशिया बैंकका कर्मचारीमाथि सार्वजनिक स्थलमै पेट्रोल छर्केर हत्याको प्रयास नै भएको थियो। यसबाहेक देशभरका दर्जन स्थानमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र कुटपिटको प्रयासका अनगिन्ती उदाहरण छन्।

यस पटक भने घटना लगत्तै नियामक निकायसँगै सुरक्षा निकाय सक्रिय देखिएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घटनाबारे यथार्थ बुझ्न राष्ट्र बैंकका एक कार्यकारी निर्देशकलाई सप्तरी पठाए भने सुरक्षा निकायले आक्रमणमा संलग्न २ जनालाई पक्राउ नै गर्‍यो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यतिबेला बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा माथि छ। यस्तै, कर्जा सूचना केन्द्रका अनुसार डेढ लाखभन्दा बढी ऋणी कालोसूचीमा परेका छन् भने गैह्रबैंकिङ्ग सम्पति ५१ अर्ब नाघेको छ । सम्भवतः नेपालको बैंकिङ्ग इतिहासकै सबैभन्दा धेरै अर्थात् ११ खर्ब तरलता थुप्रिएर बसेको छ भने दशक यताकै न्यून ब्याजदर कायम छ । तरपनि, लगानीकर्ताहरू बैंकबाट कर्जा लिन नमानिरहेको अवस्था र बैंकबाट प्रवाहित कर्जा संकलनमा समस्या भइरहेको अवस्थामा यस प्रकारका घटना थप बढ्दै गएको देखिन्छ।

थप कर्जा प्रवाह नभएका कारणले बैंक तथा वित्तीय संस्थाहरूको सिंगो टिम नै ‘रिकभरी’ लागेको समयमा ‘फिल्ड’ मा नै पुगेर असुलीमा संलग्नहरूको मनोबल नै खस्कने गरी गतिविधि भइरहेको छ। जबकि, सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाविरुद्ध भड्काउने र ऋण नर्तिन खुला आह्वान गर्ने प्रसाईँ खुलमखुला नेतागिरी गर्दै हिँडिरहेका छन्। कर्जा प्रवाह ठप्प भइरहेको समयमा कर्जा असुलीलाई नै प्रभावित बनाउने गरी घट्ने यस प्रकारका घटनाले बैंक तथा वित्तीय संस्थाको दरिलो संरचना नै डगमगाउने जोखिम बढ्न थालेको छ।

किनकि, वाणिज्य बैंकहरुमा जम्मा भएको ७५ खर्ब निक्षेपमध्ये ५६ खर्ब कर्जा प्रवाह भएको छ। र, यो रकम सर्वसाधारणबाट उठाइएको हो। यसअघि सहकारी संस्थामा आएको धराशायीका कारण अर्थतन्त्रमा देखिइरहेको संकुचनले अर्थतन्त्रले अहिलेसम्म लय लिन सकेको छैन। नेपालमा सञ्चालित सबैजसो व्यवसायमध्ये सबैभन्दा पारदर्शी, व्यवस्थित र भरपर्दो बैंकिङ्ग क्षेत्रमाथिको यो आक्रमणले समग्र प्रणालीमा नै विश्वासको संकट ल्याउन थालेको छ।

बैंकका कर्मचारीको मनोबल फर्किन्छ ?

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमण लगत्तै सरकार, नेपाल राष्ट्र बैंकदेखि सुरक्षा निकाय चनाखो बन्यो। सबै पक्षले एकसाथ ‘एक्सन’ लिँदा आक्रमणमा संलग्न २ जना प्रहरी हिरासतमा छन् भने उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट थप तथ्य खुल्नेछ भने आक्रमणकारी पक्राउ पछि बैंकका कर्मचारीको मनोबल बढ्ने सरोकारवाला बताउँछन्। ज्योति विकास बैंकका डेपुटी सीईओ प्रकाश बरालले यो घटनामा प्रहरीले लिएको एक्सनले बैंकका कर्मचारीको मनोबल उठ्ने बताए।

बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले भने, ‘प्रहरीले पक्राउ गरेपछि आक्रमणकारी कानूनी कठघरामा उभिने उदाहरण गयो। यसबाट बैंकका कर्मचारीको मनोबल बढ्ने हाम्रो आँकलन छ।’ तर, सार्वजनिकरुपमा हुने यस प्रकारको घटना र आक्रमणमा पर्ने डर सहजै हट्नेमा भने शंका गर्न सकिन्छ। किनकि, आक्रमण भोगिसकेपछि हुने कारबाही र एक्सनभन्दा पनि ऋण असुलीमा जाँदा नै पाउनुपर्ने सुरक्षा प्रत्याभूति महत्त्वपूर्ण हुन्छ। यद्यपि, आक्रमणकारीलाई हुने १० वर्षसम्मको जेल सजाय र प्रहरीको तीव्र प्रतिक्रियाबाट बैंकिङ्ग क्षेत्रका कर्मचारीको मनोबल ह्वात्तै घट्न भने दिएन।

तर, विगतदेखि नै घट्दै आइरहेका यस प्रकारका गतिविधिका कारण एकाएक मनोबल बढ्ने देखिँदैन। किनकि, लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू ऋण असुली र फिल्डको कामका क्रममा असुरक्षित महसुस गर्दै आएका थिए। ऋणी र विभिन्न समूहका अभियन्ताहरूको नाममा हुने अभद्र व्यवहार, धम्की र आक्रमणलाई लिएर बैंकिङ्ग क्षेत्रभित्र असन्तोष बढिरहेको थियो। अझै दुर्गा प्रसाईँ समूहको चन्दा आतकंले यो क्षेत्रमा थप सन्त्रास फैलाएको छ।

यहीकारण, आक्रमणपछि लिइने ‘एक्सन’कै भरमा कर्मचारीको मनोबल फर्किने र कर्मचारी खुल्लमखुल्ला कर्जा असुलीमा हिँड्ने सम्भावना नबढ्न सक्छ। यहीकारण, बैंक तथा वित्तीय संस्थामाथि भइरहेको शृङ्खलाबद्ध आक्रमणमा राज्य तहबाटै सुरक्षाको प्रत्याभूति हुने गरी प्रधानमन्त्री तथा अर्थमन्त्रालयस्तरबाट कदम चालिनुपर्नेमा सरोकारवालाको जोड छ।

ज्यादतीविरुद्ध छाता संगठनको एक स्वर, वित्तीय संस्था धराशायी बन्ने जोखिम

विगतका समयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कालो मोसो, जुत्ताको माला लगायत कुटपिटका गतिविधिले बैंकका कर्मचारीको मनोबल गिरेको थियो। तर, यतिबेला बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अमानवीय क्रियाकलाप गर्नेहरूलाई प्रहरीले पक्राउ गरेर आवश्यक कानूनी दायरामा लैजाने भएपछि बैंकका कर्मचारीमा केही विश्वास पलाएको छ।

बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित छाता संगठनहरु तथा विभिन्न व्यवसायीक छाता संगठनले एक स्वरमा गलत गर्नेविरुद्ध कारबाही गर्नुपर्ने दबाब दिएपछि नेपाल राष्ट्र बैंक तातेको थियो। नेपाल बैंकर्स संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, डेभलपमेन्ट बैंकर्स एसोसिएन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स एसोसिएसनले एकै स्वरमा आक्रमणकारीलाई कारबाही नगरेमा समग्र वित्तीय प्रणाली नै धराशायी बन्ने बताएका थिए।

व्यक्तिलाई कुटपिट गरेमा मुलुकी अपराध संहिता, २०७४ अनुसार कुटपिट गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई समेत यही व्यवस्थाका आधारमा कारबाही हुने बताइएको छ । सोहीकारण, यस व्यवस्थाका विषयमा पहिले नै जानकार भएकाहरूले बैंकका कर्मचारीमाथि आक्रमण गर्ने आट गर्दैनथे।

तर, बैंकका कर्मचारी कुटे पनि कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल जाने व्यवस्था बुझे कसैले पनि कुनै कर्मचारीमाथि त्यस्तो दुस्साहस नगर्ने बैंकका डिसीईओ बराल बताउँछन्। ‘हिजोसम्म कर्मचारीहरू डराएर हेलमेट लगाएर हिँड्नुपर्ने स्थिति थियो । अब अभद्र व्यवहार गर्नेहरू नै डराउनुपर्ने स्थिति आएको छ,’ बरालले भने।

बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले बैंकका कर्मचारीमाथि दोहोरिएको आक्रमणलाई गम्भीर रूपमा लिएर कानूनी दायरामा नै ल्याउँदा आगामी दिनमा बैंकका कर्मचारीले यस्ता किसिमका आक्रमणको सिकार हुन नपर्ने देखिएको छ। ऋण असुलीमा समस्या कायमै रहँदा खराब कर्जा बढ्ने जोखिम बैंक तथा वित्तीय संस्थामाथि हुने आक्रमण जसमा पनि ऋण असुलीका लागी फिल्डमा गएका कर्मचारीमाथि हुने आक्रमणले बैंक तथा वित्तीय संस्थालाई ऋण असुलीमा थप चुनौती सिर्जना भएको छ। बैंकहरूले दिएको कर्जा असुली नुहुँदा त्यसको प्रभाव एक बैंकमा मात्रै नभई समग्र बैंकिङ्ग क्षेत्रमा नै पर्ने गर्दछ।

लगानी शून्य प्राय, अधिक तरलता कायमै

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा पनि बैंकहरूबाट हुने लगानी बढ्न सकेको छैन। अर्थतन्त्रमा आर्थिक संकट आउँदा व्यापारमा पनि मन्दी कायमै छ। जसकारण व्यवसायीहरू कर्जा लिन चाहिरहेका छैनन्। यसले गर्दा बैंकहरूमा तरलता बढिरहेको छ। यता, बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि आक्रमणका घटना बढ्दा बैंकहरूबाट हुने लगानी बढ्न नसक्ने कतिपयको बुझाइ छ।

यता, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लगातार तरलता प्रशोचन गर्दै आइरहेको छ। बैंकहरूमा भएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पैसा तानिरहेको हो। यस क्रममा केन्द्रीय बैंकले कात्तिकसम्म खुद १९५ खर्ब ४३ अर्ब ५५ करोड बराबरको तरलता प्रशोचन गरेको छ। केन्द्रीय बैंकले मंसिरमा मात्रै ३ खर्ब ५५ अर्बको निक्षेप संकलन गरिसकेको छ। बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथिका आक्रमणहरूले कर्मचारीको मनोबल र कर्जा असुली प्रक्रियामा असर पार्छ। जसले भविष्यमा तरलता व्यवस्थापनलाई जटिल बनाउने यस क्षेत्रका विज्ञ बताउँछन्।