ज्योति विकास बैंकका कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई के सजाय हुन्छ ?


काठमाडौं – बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दै गएको अराजक र अपमानजनक व्यवहारविरुद्ध राज्य संयन्त्र सक्रिय देखिन थालेको छ। ज्योति विकास बैंकका कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेपछि बैंकिङ्ग क्षेत्रका कर्मचारीमा केही राहत र मनोबल बढेको संकेत देखिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले ज्योति विकास बैंकको क्लस्टर कार्यालय बर्दिवासअन्तर्गत खटिएका कर्मचारीमाथि अपमानजनक व्यवहार गरेको अभियोगमा संजीव कुमार चौधरी र उमाकान्त चौधरीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूलाई अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

घटना मंसिर महिनामा सप्तरीको रुपनी क्षेत्रमा भएको थियो। कर्जा असुलीसम्बन्धी कार्यका लागि फिल्डमा खटिएका बैंकका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि ऋणी पक्षले एक्कासि घेरा हाली कुटपिट गर्दै कालो मोसो दल्ने, जुत्ताको माला लगाउने र फोटो–भिडियो बनाउनेजस्ता अपमानजनक व्यवहार गरेका थिए। त्यसक्रममा कर्मचारी सुनित श्रेष्ठले लगाएको सुनको औंठी र सिक्री समेत लुटिएको बैंकले जनाएको छ।

यस घटनाले बैंकिङ क्षेत्रभित्र मात्रै होइन, समग्र वित्तीय प्रणालीको सुरक्षा र मर्यादामाथि प्रश्न उठाएको थियो। पछिल्लो समय कर्जा तिर्न नपर्ने भ्रम फैलाउँदै बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने दुव्र्यवहार सामान्यजस्तै बन्न थालेको भन्दै कर्मचारी संगठन तथा वित्तीय क्षेत्रका सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन्।

घटनापछि चौतर्फी विरोध बढ्दै गएको छ। निहित स्वार्थका लागि बैंक तथा वित्तीय संस्थामाथि गरिने यस्ता आक्रमणले कर्मचारीको मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग उठिरहेको छ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनालाई गम्भीर आपराधिक कसुरका रूपमा लिँदै कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीको सक्रियताले अब यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरू हच्किन सक्ने र फिल्डमा काम गर्ने बैंकका कर्मचारीमा केही भरोसा फर्किन सक्ने अपेक्षा गरिएको छ।

कानुनी कारबाहीको प्रावधान

कुनै व्यक्तिलाई कुटपिट गरेमा मुलुकी अपराध संहिता, २०७४ अनुसार कुटपिट गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। अपमानजनक व्यवहार गर्न व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को १६८ दफाको (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।

साथै, मुलुकी अपराध संहिता, २०७४ को १८३ मा ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा बताइएको छ। यदि यस्तो गरेको खण्ड (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।