काठमाडौं – हिँडिरहेका वृद्धा महिलालाई लक्षित गरी सुनका गरगहना लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सुशील नेपाली, आशिष नेपाली, विजय पराजुली, अस्मिता नेपाली तुल बहादुर विश्वकर्मा रहेका छन्।
प्रहरीका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ ठुलोकुनामा ८२ वर्षीया वृद्धा महिला बाटोमा हिँडिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूले डरत्रास देखाई लछारपछार गरी दुवै कानमा लगाएको सुनको रिङ चोरी गरी फरार भएका थिए। त्यसैगरी, सोही दिन उनीहरुले पोखरा महानगरपालिका–१९ पुरनचौरमा ६५ वर्षीया वृद्धा महिलाको समेत दुवै कानमा लगाएको सुनको रिङ लुछी चोरी गरिएको थिए।
लगातार घटेका घटनाको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट संयुक्त प्रहरी टोली परिचालन भई सूक्ष्म अनुसन्धान गर्दा घटनामा संलग्न पाँच जनालाई चोरी भएका गरगहना सहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
सुशील नेपाली, विजय पराजुली र आशिष नेपाली सुनारले स्कुटर प्रयोग गरी वृद्धा महिलाहरूलाई लक्षित गरेर चोरी गरेका थिए। चोरी गरिएका गरगहना पोखरा–१ भिमकालीपाटनस्थित आशिष नेपालीको डेरामा लुकाई राखिएको थियो। त्यसमध्ये केही गरगहना आशिष नेपाली र उनकी श्रीमती अस्मिता नेपालीले पोखरास्थित मुक्तिनाथ सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ। पसलमा गरिएको खानतलासीका क्रममा बिक्री गरिएको रिङ पगाली डल्लो बनाइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेँलो धातुको डल्लो, हातमा लगाउने बाला २ थान, कानमा लगाउने रिङ २ थान, नगद ६० हजार र मोबाइल ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया