‘सरोकारवाला भन्छन्, ‘सप्तरीको घटनाले बैंकका कर्मचारीको मनोबल बढायो’ 

आक्रमणपछि उठेको प्रश्न, जसले वित्तीय क्षेत्रलाई एकजुट बनायो


काठमाडौं – बैंकका कर्मचारीहरू वित्तीय अनुशासन कायम गर्न फिल्डमा निस्कँदा कति सुरक्षित छन् ? यो प्रश्न फेरि एक पटक मंसिर २४ गते सप्तरीमा भएको घटनाले गम्भीर रूपमा उठाइदिएको छ। ज्योति विकास बैंकका कर्मचारीमाथि ऋण असुलीको क्रममा भएको दुर्व्यवहार र आक्रमणले कुनै एक संस्थाका कर्मचारीलाई मात्र होइन, समग्र वित्तीय क्षेत्रलाई झस्काएको छ।

मंसिर २४ गते ज्योति विकास बैंकको सप्तरी जिल्लाअन्तर्गत रुपनी शाखाबाट कर्जा लिएका तर समयमै किस्ता नबुझाएका ऋणीसँग छलफल गर्न बैंकका कर्मचारीहरू फिल्डमा निस्किए। बैंकको कलष्टर कार्यालय बर्दिवासबाट खटाइएका कर्मचारी सुनित श्रेष्ठ र सविनकुमार श्रेष्ठ पूर्व सम्झौताअनुसार संवादका लागि गएका थिए। तर, बलार्द चोक क्षेत्रमा पुग्ने बित्तिकै ऋणी पक्षका व्यक्तिहरूले उनीहरूलाई घेरा हाली नियन्त्रणमा लिए।

प्रत्यक्ष संवादका नाममा बोलाइएका कर्मचारीहरूलाई सप्तकोसी इन्टिग्रेटेड एग्रो फर्म प्रालि सञ्चालन भइरहेको स्थानसम्म लगेर नियोजित रूपमा अपमानजनक व्यवहार गरिएको थियो। कालोमोसो दल्ने, जुत्ताको माला लगाइ फोटो–भिडियो बनाउने जस्ता गतिविधिले बैंकका कर्मचारीहरूलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि गहिरो चोट पु¥याएको छ। घटनाका क्रममा सुनित श्रेष्ठले लगाएको दश आना सुनको औँठी र सुनको सिक्रीसमेत लुटिएको बताइएको छ।

यो घटना नयाँ भने होइन। विगतमा पनि बैंकका कर्मचारीमाथि यस्तै किसिमका दुर्व्यवहार र आक्रमण हुँदै आएका थिए। तर, ती घटनालाई पर्याप्त गम्भीरताका साथ नलिइँदा यस्ता प्रवृत्ति निरन्तर दोहोरिँदै आएको बैंकिङ्ग क्षेत्रका कर्मचारीहरूको गुनासो छ। ऋण असुलीलाई लिएर कर्मचारीलाई नै दोषी ठहर गर्दै सार्वजनिक अपमान गर्ने संस्कृतिले वित्तीय प्रणालीमै नकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ।

यसपटक भने सप्तरीको घटनाले फरक संकेत दिएको छ। बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरू एकसाथ उभिएर घटनाको विरोध गरेका छन्। नियामकदेखि व्यवसायिक संगठनसम्मको एकजुट आवाजले बैंकका कर्मचारीहरूको मनोबल बढेको उनीहरू बताउँछन्। ‘यस्ता घटनामा मौन बसिँदैन भन्ने सन्देश गएको छ,’ एक बैंक कर्मचारी भन्छन्, ‘यसले भविष्यमा यस्ता व्यवहार दोहोरिन नदिन दबाब सिर्जना गर्छ।’

ऋण असुली कानुनी र संस्थागत प्रक्रिया भएकाले यसलाई व्यक्तिगत दुस्मनीका रूपमा लिएर कर्मचारीमाथि आक्रमण गर्नु आपराधिक कार्य हुने  बैंकिङ्ग क्षेत्रका विज्ञहरूको बुझाइ छ। यदि यस्ता घटनामा कडाइका साथ कारबाही भएन भने बैंकिङ्ग  प्रणालीमै जोखिम बढ्ने उनीहरूको चेतावनी छ।

यसपटक बैंकका कर्मचारीमाथि भएको आक्रमणमा नियामक निकाय नेपाल राष्ट्र बैंकदेखि बैंक तथा वित्तीय संस्थाका सीईओहरूको छाता संगठन र बैंकका अध्यक्षहरूको संगठनले समेत लगातार रूपमा आवाज उठाउँदा बैंकले बैंकका कर्मचारीमाथि आक्रमण गर्नेहरूविरुद्ध जाहेरी दिएका थिए। यतिबेला बैंकका कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जना प्रहरीको फन्दामा परिसकेका छन्। 

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेहरूलाई विशेष कानूनी कारबाहीको व्यवस्थ छ। जसका कारण अब यस्ता गतिविधिबाट बैंकका कर्मचारीहरू आत्तिनु नपर्ने अवस्था आएको यस क्षेत्रका विज्ञ बताउँछन्। 

यता, कर्मचारी कुटिएपछि ज्योति विकास बैंकले मुद्दा नै दर्ता गरेर आफ्नो अन्य कर्मचारीको मनोबल उकास्ने गरी काम गरेको छ। बैंकका सिनियर डेपुटी सीईओ प्रकाश बराल बैंकका कर्मचारीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउँदा बैंकका कर्मचारीको मनोबल बढेको बताउँछन्। कुटपिट गर्नेहरूमाथि प्रहरीले आवश्यक कानूनी कारबाही अघि बढाएर दुई जनालाई पक्राउ गर्दा यो घटनाले बैंकिङ्ग क्षेत्रमा एउटा नयाँ माइलस्टोन (कोसेढुङ्गा) सेट गरेको बताए। 

बैंकका सूचना अधिकारी समेत रहेका बरालकाअनुसार अब बैंकका कर्मचारी कुटिनुपर्ने डर मान्नु पर्ने अवस्थाको अन्त्य भएको छ। ‘बैंकका कर्मचारीको बदमासी नहुँदा कानूनमा रहेर कुनै पनि काममा कर्मचारी जाँदा कर्मचारीहरूले कुटाइ खानुपर्ने अवस्था रहँदैन,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘बैंकका कर्मचारीलाई अभद्र व्यवहार गर्नेलाई रहेको कानूनी व्यवस्थाका कारण कर्मचारीहरूले सुरक्षित महसुस गर्नेछन्।’

यसरी कुनै व्यक्तिलाई कुटपिट गरेमा मुलुकी अपराध संहिता, २०७४ अनुसार कुटपिट गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। यस व्यवस्थाका विषयमा पहिले नै जानकार भएकाहरूले बैंकका कर्मचारी माथि आक्रमण गर्ने आट गर्दैनथे।

तर, बैंकका कर्मचारी कुटे पनि कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल जाने व्यवस्था बुझे कसैले पनि कुनै कर्मचारीमाथि त्यस्तो दुस्साहस नगर्ने बैंकका डिसीईओ बताउँछन्। ‘हिजोसम्म कर्मचारीहरू डराएर हेलमेट लगाएर हिँड्नुपर्ने स्थिति थियो। अब चाहिँ कुट्ने मान्छे नै कतै म जेल जानुपर्ने त होइन भनेर डराउनुपर्ने स्थिति आएको छ,’ उनले भने।