काठमाडौं – बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने अराजक गतिविधि फेरि बढ्न थालेका छन्। केही समय यस्ता समूहहरू शान्त देखिए पनि पछिल्लो समय पुनः बैंकका कर्मचारीमाथि ज्यादतीका घटना बढ्दै गएका हुन्। बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न जाँदा बैंकका दुई जना कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण गरिएको हो।
बैंकको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटाइएका ती कर्मचारीहरू पूर्व सम्झौताअनुसार संवादका लागि फर्मको कार्यालय पुगेका थिए । तर, त्यहाँ फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिएर घण्टौँसम्म राखी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बैंकको दाबी छ।
हाल बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरू लक्षित दुर्व्यवहार, लुटपाट, कार्यालय बन्द गराउने धम्की तथा प्रत्यक्ष आक्रमणजस्ता अराजक गतिविधि मौलाइरहेका छन्। यही क्रममा केही दिनअघि ज्योति विकास बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि आक्रमण भएको घटना सार्वजनिक भएको छ। बैंकले यस घटनामा बहालवाला उपमेयरको समेत संलग्नता रहेको दाबी गरेको छ।
कृषि विकास बैंकदेखि एनआईसी एशिया बैंकसम्म, कर्मचारीले भोग्दै आएका यातनाका शृङ्खला
पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाहरू अराजक र आपराधिक गतिविधिको निशानामा पर्न थालेका छन्। कर्जा मिनाहा हुने, साँवा–ब्याज तिर्नु नपर्ने भन्दै विभिन्न समूहले फैलाएको भ्रमको असर बैंकिङ्ग प्रणालीमै मात्र होइन, बैंकका कर्मचारीहरूको व्यक्तिगत सुरक्षामा समेत गम्भीर चुनौती बनेको छ।
गत वर्ष ०८१ पुस ११ गते कृषि विकास बैंकको लहान शाखाका कर्मचारीमाथि स्थानीयले आक्रमण गरेका थिए । बैंकविरुद्ध आन्दोलित बनेका स्थानीयवासीले शाखामा तालाबन्दी गर्दै ढुंगामुढा गरेका थिए । सो क्रममा सबै कर्मचारीलाई कार्यालयभित्रै थुनेर घण्टौँसम्म शाखामा तालाबन्दी गरिएको थियो ।
कृषि विकास बैंकको घटना सेलाउन नपाउँदै सिद्धार्थ बैंकको जनकपुर शाखामा पनि यस्तै प्रकृतिको घटना भएको थियो। ऋणीले धितोमा राखेको घरजग्गा लिलामी प्रक्रिया अघि बढाएको भन्दै ऋणीहरू बैंकविरुद्ध उत्रिएका थिए । उनीहरूले कर्जा असुली प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै शाखामा तनाव सिर्जना गरेका थिए ।
यसअघि नै रौतहटमा एनआईसी एशिया बैंकका कर्मचारीमाथि ज्यानै लिने उद्देश्यले पेट्रोल खन्याएर जलाउने प्रयास भएको थियो । महागढीमाई शाखाका प्रमुख विकास श्रेष्ठ र कर्मचारी जयदीप कुशवाहा ऋण असुलीका लागि गएका बेला उनीहरूमाथि आक्रमण गरिएको थियो ।
यस्ता घटनाहरू पछिल्लो समय देशभरबाट सार्वजनिक हुन थालेका छन् । आर्थिक मन्दीका कारण आफूहरू पीडित भएको दाबी गर्दै कतिपय ऋणीहरूले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीमाथि निरन्तर आक्रमण गर्दै आएको देखिन्छ। कतिपय अवस्थामा भने ऋण तिर्नु नपर्ने भ्रमकै कारण कर्मचारीमाथि हिंसा भइरहेको सरोकारवालाहरू बताउँछन् ।
लघुवित्त कर्मचारी पनि असुरक्षित
बैंकका कर्मचारीमाथि मात्र होइन, ग्रामीण अर्थतन्त्र सुधार गर्ने र दुर्गम क्षेत्रमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले स्थापना गरिएका लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू पनि लगातार आक्रमणको सिकार बनिरहेका छन्। विगत केही वर्षदेखि एक समूहले लघुवित्तको ऋण मिनाहा माग्दै कतै आन्दोलन त कतै कर्मचारीमाथि प्रत्यक्ष आक्रमण गर्दै आएको छ।
लघुवित्तका कर्मचारीहरूका अनुसार दुर्गा प्रसाईँले लघुवित्त र बैंकका कर्मचारीमाथि लक्षित गर्दै ‘च्याप्प समाउने, मोसो दल्ने’ जस्ता अभिव्यक्ति दिएपछि यस्ता घटनाले थप तीव्रता पाएको छ।
गत वर्ष ०८१ फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालो मोसो दलिएको थियो भने सोही क्रममा लुटपाटसमेत भएको थियो। त्यसैगरी, फागुन २१ गते मोरङको कर्सियामा जीवन विकास लघुवित्तको गौरीगन्ज शाखाका कर्मचारीमाथि कुटपिट भएको थियो। फागुन २५ गते झापामा अभियान लघुवित्तका कर्मचारीमाथि कालो मोसो दलिएको घटना पनि सार्वजनिक भएको थियो।
यसैबीच, एनएमबी लघुवित्तको तुम्लिङटार शाखाका कर्मचारीमाथि कुटपिट भएको छ भने सप्तरी, कपिलवस्तु र सिराहामा समेत लघुवित्तका कर्मचारीमाथि आक्रमण भएका उदाहरणहरू छन्।
लघुवित्तका कर्मचारीमाथि सुरु भएका यस्ता अराजक गतिविधि अहिले बिस्तारै वाणिज्य बैंकसम्मै फैलिन थालेका छन्। बैंकिङ्ग क्षेत्रका सरोकारवालाहरूले कर्मचारीको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम नचालिए बैंकिङ्ग प्रणाली नै थप जोखिममा पर्ने चेतावनी दिएका छन्।






About Us
प्रतिक्रिया