काठमाडौं – लामो समयको पर्खाइपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया अगाडि बढेको छ। रिलायन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रति कित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले आईपीओ निष्कासन गरिसकेको छ। यो हालसम्म जारी गरिएका साधारण शेयरभन्दा महँगो मूल्य हो। बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भई रिलायन्सको आईपीओ निष्कासन भएको हो।
कम्पनीले कुल पुँजीको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता आईपीओ जारी गर्ने भएको छ। जसमध्ये कम्पनीको कुल पुँजीको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि निष्कासन गरिसकेको छ। यसमध्ये ४० प्रतिशत शेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताले खरिद गरिसकेका छन्। संस्थागत लगानीकर्ताको लागि प्रतिकित्ता शेयर मूल्य ६०८ देखि ९१२ रुपैयाँ तोकिएको थियो।
संस्थागत लगानीकर्ताको लागि ७ लाख ७० हजार ६४० कित्ता शेयर छुट्याइएकोमा झन्डै चार गुणा बढी २८ लाख ८८ हजार ७ सय ८१ कित्ताको आवेदन परेको थियो। बाँकी ५ प्रतिशत सामूहिक लगानी कोषको लागि, त्यस्तै, ५ प्रतिशत कर्मचारीका लागि र बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ।
रिलायन्सको यो आईपीओले १ वर्ष अगाडी नै नेपाल धितोपत्र बोर्डबाट निष्कासनका लागि अनुमति पाइसकेको थियो। आईपीओ निष्कासनका सम्बन्धमा विवाद देखिएपछि बीचमै कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको थियो। उच्च अदालतले कम्पनीको पक्षमा फैसला गरिदिएर आईपीओ निष्कासनको प्रक्रिया फेरि अघि बढेको हो।
बुक बिल्डिङ भनेको के हो र किन यो शेयर महँगो छ ?
बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो। यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितो पत्रमध्ये केही कित्ताको सीमित लिलामी गरिन्छ। यस्तो लिलामबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितो पत्रको सार्वजनिक निष्कासन गरिन्छ। यस विधिमा कम्पनीले नै प्राइस रेन्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गरिन्छ। सामान्यतया धितोपत्र निष्कासनको मूल्य अर्थात् आईपीओ निष्कासन गर्नुअघि नै शेयर मूल्य पत्ता लगाउने विधि नै बुक बिल्डिङ हो।
रिलायन्स स्पिनिङ्ग मिल्स सर्वोत्तम सिमेन्ट पछिको बुक बिल्डिङ विधिबाट मूल्यांकन भई आईपीओ निष्कासन गर्ने दोस्रो कम्पनी हो। २०५४ सालमा स्थापना भएको रिलायन्स यो सबैन्दा ठुलो धागो उत्पादन गर्ने कम्पनी हो। यो नेपालको अहिलेसम्मकै आईपीओ निष्कासन गर्ने कम्पनीहरू मध्येको महँगो कम्पनी हो। जसमा लगानी गर्न ४१ हजार भन्दा बढी चाहिन्छ । जसको लागि न्यनतम शेयर संख्या नै ५० कित्ता तोकिएको छ।
यो शेयर यति धेरै महँगो हुनुको एउटै कारण हो ‘बुक बिल्डिङ’ विधि। यस कम्पनीको आइपीओको मूल्य बुक बिल्डिङ विधिले तोकेको कारणले नै महँगो भएको हो। कम्पनीले आफ्नो कुल उत्पादनको लगभग ७५ प्रतिशत हिस्सा विदेशमा निर्यात गर्छ। उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्की, बेलायत लगायत देशमा निर्यात हुने गरेका छन्।
कस्तो छ कम्पनीको वित्तीय स्थिति ?
गत आर्थिक वर्ष २०८१/८२ मा रिलायन्सले अघिल्लो वर्षभन्दा ४२ प्रतिशत बढी नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आव ०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ। यस्तो नाफा अघिल्लो आवको झन्डै ४२ प्रतिशतले बढी हो। कम्पनीले अघिल्लो आव ०८०/८१ मा ८६ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो।
त्यसैगरी, आव २०८०/८१ मा रिलायन्सको कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेकोमा आव ०८१/८२ मा १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी सञ्चालन नाफा ५७ करोड २८ लाखबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यससँगै, अघिल्लो आवमा २ रुपैयाँ ९५ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको गत आवमा २७ रुपैयाँ ९० पैसा कायम भएको छ।






About Us
प्रतिक्रिया