काठमाडौं- काठमाडौं जिल्ला प्रहरी परिसरले अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको अभियोगमा चार दिनभित्र चार जनालाई पक्राउ गरेको छ। उनीहरूबाट करिब २६ करोड ७५ लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले गत मंसिर ११ गते बाराको कलैया–२० स्थायी घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका २३ वर्षीय मोहम्मद सेफलाई काठमाडौं महानगरपालिका–११ भद्रकालीबाट पक्राउ गरेको थियो। मंसिर १० गते साँझ भद्रकाली क्षेत्रमा क्रिप्टो कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा उनलाई नियन्त्रणमा लिइएको हो। सेफको साथबाट विभिन्न कम्पनीका दुई थान मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले १९ करोड ८१ लाख ४९ हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ।
त्यसैगरी, मंसिर १२ गते रौतहटको गरुडा नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ। भद्रकाली क्षेत्रमा क्रिप्टो कारोबार र अनलाइन ठगी भइरहेको सूचनाका आधारमा पक्राउ परेका बानियाँले ६ करोड १८ लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको र अनलाइन ठगीसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यसपछि मंसिर १४ गते काठमाडौं महानगरपालिका–१० बिजुली बजार क्षेत्रमा क्रिप्टो कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले थप दुई जनालाई पक्राउ गर्याे। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डंगोल र मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थायी घर भई हाल कलंकी बस्दै आएका ४५ वर्षीय उमेश श्रेष्ठ छन्।
उनीहरूले ७४ लाख ५२ हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। उनीहरूको कब्जाबाट विभिन्न कम्पनीका पाँच थान मोबाइल फोन समेत बरामद गरिएको छ, ती मोबाइल क्रिप्टो कारोबारमा प्रयोग भएको प्रहरीको भनाइ छ।
यसरी काठमाडौं जिल्ला प्रहरी परिसरले चार दिनको अवधिमा काठमाडौंका विभिन्न स्थानबाट चार जना क्रिप्टो कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये सेफलाई १५ दिन, बानियाँलाई १४ दिन तथा डंगोल र श्रेष्ठलाई १२ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
नेपालमा क्रिप्टो कारोबार किन अवैध ?
प्रविधिको तीव्र विकाससँगै डिजिटल प्रणालीमार्फत आर्थिक गतिविधि बढ्दै गए पनि नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध मानिएको छ। देशको वित्तीय स्थिरता र आम नागरिकको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने, साथै अवैध कारोबारबाट आएको रकम शुद्धीकरण गर्न क्रिप्टो सजिलो माध्यम बन्ने भएकाले नेपाल राष्ट्र बैंकले यसलाई निषेध गरेको हो। अवैध रकम क्रिप्टोमार्फत लुकाउने, सार्ने र विदेशी प्लेटफर्ममा सुरक्षित राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै राष्ट्र बैंकले २०१९ र २०२१ मा छुट्टाछुट्टै निर्देशन जारी गरी क्रिप्टो कारोबार अवैध रहेको स्पष्ट गरेको छ।
अघिल्ला घटनाहरू र बढ्दो उजुरी
यसै वर्षको असारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना चिनियाँ नागरिकसहित ५२ जना तथा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टो कारोबार गरेको अभियोगमा २ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा १, ०७८/७९ मा २ र ०७९/८० मा ३ वटा क्रिप्टो कारोबारसम्बन्धी उजुरी दर्ता भएका थिए। ०७९/८० मा ६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको पाइएको थियो।
त्यस्तै, ०८०/८१ मा ३ वटा उजुरी दर्ता भई ५ जना पक्राउ परेका थिए भने ०८१/८२ मा मात्र ८ वटा उजुरी दर्ता हुँदा ९ जना विदेशी र ९ जना नेपाली पक्राउ परेका थिए। नेपालमा एक दशकअघिदेखि भित्रिएको क्रिप्टो कारोबार नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि यसमा संलग्न व्यक्तिहरूको संख्या भने घट्न नसकेको प्रहरीको निष्कर्ष छ।






About Us
प्रतिक्रिया