ट्रम्पद्वारा भाषणलाई सम्पादन गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप बिबिसीविरुद्ध ५ अर्ब डलरको मुद्दा


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दंगाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा ५ अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लंघन गरेको आरोप लगाइएको छ ।

सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बिबिसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा उक्त वृत्तचित्र प्रसारण गरिएको थियो । सो भिडियोमा सन् २०२१ जनवरी ६ का राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक-फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उनले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा आग्रह गर्नुभएको जस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ । त्यही दिन अमेरिकी सांसदहरू जो बाइडेनको सन् २०२० को चुनावी जित प्रमाणित गरिरहेका थिए ।

राष्ट्रपति ट्रम्पको कानुनी टोलीका प्रवक्ताले एएफपीलाई जारी गरेको विज्ञप्तिमा ‘पहिले सम्मानित र अहिले अपमानित भइसकेको बिबिसीले सन् २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने निर्लज्ज प्रयास स्वरूप जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा राष्ट्रपति ट्रम्पको भाषणलाई हेरफेर गरेर उहाँलाई बदनाम गरेको’ आरोप लगाएका छन् । विज्ञप्तिमा बिबिसीले आफ्ना दर्शकहरूलाई धोका दिने ढाँचा लामो समयदेखि कायम राखेको र त्यो सबै आफ्नै वामपन्थी राजनीतिक एजेन्डाको सेवामा गरिएको दाबीसमेत गरिएको छ ।

बेलायत बाहिरसम्म व्यापक दर्शकवर्ग रहेको ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन पछिल्लो समय उथलपुथलको अवस्थामा छ । गत महिना एक मिडिया रिपोर्टमार्फत सम्पादन गरिएको उक्त क्लिपमा पुनः ध्यान केन्द्रित भएपछि संस्थाभित्र ठूलो विवाद उत्पन्न भएको थियो । यसै घोटालाका कारण बिबिसीका महानिर्देशक तथा संस्थाका शीर्ष समाचार कार्यकारीले पदबाट राजीनामा दिनुपरेको थियो ।

राष्ट्रपति ट्रम्पको मुद्दामा वृत्तचित्रमा सम्पादित भाषणलाई ‘२०२४ को राष्ट्रपति चुनावको ठिक एक हप्ता अघि प्रतिवादीहरूले राष्ट्रपति ट्रम्पलाई क्षति पुर्‍याउने, चुनावको नतिजामा हस्तक्षेप गर्ने र त्यसलाई प्रभाव पार्ने निर्लज्ज उद्देश्यले बनावटी रूपमा तयार गरी प्रसारण गरेको सामग्री’ भनेर वर्णन गरिएको छ ।

बिबिसीले भने राष्ट्रपति ट्रम्पले दायर गरेको कानुनी मानहानिको दाबी अस्वीकार गरेको छ । यद्यपि बिबिसीका अध्यक्ष समीर शाहले राष्ट्रपति ट्रम्पलाई माफी पत्र पठाएको पुष्टि भएको छ ।

शाहले गत महिना बेलायतको संसदीय समितिसमक्ष पनि डेली टेलिग्राफ पत्रिकामा चुहिएको एक आन्तरिक मेमोका आधारमा प्रसारणकर्ताले आफ्नो गल्ती चाँडै स्वीकार गर्दै सुधारात्मक कदम चाल्नुपर्ने अवस्था आएको स्वीकार गरो थिए ।

बिबिसीविरुद्धको यो मुद्दा पछिल्ला वर्षहरूमा राष्ट्रपति ट्रम्पले विभिन्न मिडिया कम्पनीहरूविरुद्ध दायर गरेकाे कानुनी कारबाहीहरूको पछिल्लो कडी हो । तीमध्ये धेरै मुद्दाहरू अन्ततः करोडौँ डलरका सम्झौतामार्फत टुंगीएको उदाहरण छन् ।