एकीकृत निर्देशन संशोधनले अर्थतन्त्र थप चलायमान हुने सिबिफिनको अनुमान, सिबिफिनले दिए आगामी दिनमा सम्बोधन गरिनुपर्ने महत्वपूर्ण १० सुझाव

एकीकृत निर्देशन संशोधनले अर्थतन्त्र थप चलायमान हुने सिबिफिनको अनुमान, सिबिफिनले दिए आगामी दिनमा सम्बोधन गरिनुपर्ने महत्वपूर्ण १० सुझाव


बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेका कतिपय महत्वपूर्ण सुझावहरु सम्बोधन भएको भन्दै एकीकृत निर्देशनमा गरिएका केही व्यवस्थालाई स्वागत गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिबिफिनले राष्ट्र बैंकले निर्देशिकामार्फत गरेका केही व्यवस्था सकारात्मक भएको जानकारी दिएको हो ।

उक्त संशोधित निर्देशनमार्फत लिइएको नरम नीतिले आमरुपमा आशा र उत्साहको सन्देश सञ्चार गरेको र मन्द गतिमा रहेको अर्थतन्त्रलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास सिबिफिनको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा लगानीको वृद्धिदर अत्यन्तै न्यून रहेको भन्दै विश्वासिलो वातावरण र उपयुक्त नीतिगत व्यवस्थाको पर्खाइ आम उद्यमी व्यवसायी रहेको पनि बताइएको छ । अहिले व्यवसायीहरू पर्ख र हेरको अवस्थामा रहँदा आर्थिक गतिविधिहरु प्रायः सुस्ताएको सिबिफिनको अनुमान छ ।

यस्तो विषम् परिस्थितिमा आम उद्यमी व्यवसायीहरुमा आशा र उत्साह जगाउँदै लगानी विस्तार, नयाँ उद्यम र उद्यमीहरुको उत्पादन, स्वउद्यमशीलता, रोजगारी तथा उत्पादकत्व अभिवृद्धि र आर्थिक गतिविधिहरुलाई बढवा दिने नीतिगत व्यवस्थाका लागि राष्ट्र बैंकले आवश्यक पहलकदमी लिँदै जानुपर्ने पनि बताइएको छ ।

त्यस्तै, निर्देशनमा भएका सकारात्मक व्यवस्था र आगामी दिनमा सम्बोधन गरिनुपर्ने महत्वपूर्ण विषयहरू पनि सिबिफिनले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

एकिकृत निर्देशनमा भएका सकारात्मक व्यवस्थाहरु

१ मार्जिन प्रकृतिको सेयर धितो कर्जाको प्राकृतिक र संस्थागत सीमा बढाउनुले लाखौँ जनताको भविष्य जोडिएको पूँजीबजारमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

२ असल कर्जामा १.३ प्रतिशतबाट घटाई १.२५ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्थाले ऋणी र बैंक दुवैलाई राहत पुग्ने देखिएको छ ।

३ व्यक्तिगत कर्जाको सीमा ५० लाखसम्म प्रवाह गर्दा लोन टू भ्यालू रेसियो ५० प्रतिशत गरिनुले रियल स्टेट कर्जा केही हदसम्म खुकुलो भई घर जग्गा कारोबार चलायमान हुने देखिन्छ ।

४ एउटै प्रकृतिका कर्जाको ब्याजदर अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्थाले बैक तथा वित्तीय संस्थाहरुको औसत ब्याजदर र स्प्रेड दर घट्ने देखिन्छ भने आम सर्वसाधारणको कर्जामा पहुँच बढ्ने देखिन्छ ।

५ प्राकृतिक व्यक्तिको बचतको पाँख लाखसम्मको कर्जा तथा निक्षेप सुरक्षण कोषसँग सुरक्षण गराउनुपर्ने व्यवस्था सकारात्मक रहेको छ ।

६ निर्धारित क्षेत्रमा लगानी पुर्याउनुपर्ने समयलाई एक वर्ष थप गरिनुले बैंक तथा वित्तीय संस्थाहरुको अनुपालनाको कार्यमा सहजता ल्याउने देखिन्छ ।

७ २५ लाखसम्मको व्यक्तिगत हायर परचेज र अटो कर्जाको जोखिम भार १२५प्रतिशत  गरिनुले अटो कर्जा सहज र केही हदसम्म सस्तो हुने पनि देखिन्छ ।

८ बैंकहरूले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको सेयरमा गरिएको कुल लगानी रकमलाई पुँजी कोष गणना गर्दा प्राथमिक पुँजीमै जोड्न पाउने व्यवस्था समेत सकारात्मक रहेको छ ।

आगामी दिनमा सम्बोधन गरिनुपर्ने महत्वपूर्ण सुझाव

१ संस्थापक सेयरलाई क्रमिकरुपमा सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई क्रमशः कार्यान्वयनमा ल्याइनुपर्दछ । उक्त व्यवस्थाले पूँजी निर्माण र परिचालनमा मात्र होइन, बैंकर्स र व्यवसायी छुट्टाउने नीतिलाई समेत प्रत्यक्ष सहयोग पुग्नेछ ।

२ तीन महिने जस्तो छोटो अवधिको निक्षेपलाई समेत मुद्दतिमा गणना गर्न पाउने व्यवस्थाले बचत निक्षेप समेत मुद्दतिमा रुपान्तरण भइरहेको, बैंक तथा वित्तीय संस्थाहरुको लागत मूल्य बढिरहेको र धेरै छोटा अवधिका मुद्दति निक्षेपको व्यवस्थाले दीर्घकालीन कर्जा विस्तारमा समेत अवरोध सृजना गरिरहेको हुँदा यस्तो व्यवस्था खारेज गरिनु उपयुक्त देखिन्छ । ६ महिना वा सोभन्दा बढिका आवधिक मुद्दति खातामा दिइने ब्याजदर फरक–फरक हुने स्पष्ट व्यवस्था गरिनुपर्दछ ।

३ उत्पादनशील क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाबाट राष्ट्रिय अर्थतन्त्रमा पर्ने प्रभावलाई मध्यनजर गर्दै उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जामा सस्तो ब्याजदरसहितका अन्य सहुलियत प्रदान गर्दा राष्ट्रिय उत्पादनमा समेत वृद्धि भई आयात प्रतिस्थापनमा मद्दत पुग्ने देखिन्छ ।

४ हाल बैंक तथा वित्तीय संस्थाहरुको अवस्था सुदृढ र सबल बन्दै गइरहेको परिप्रेक्ष्यमा कर्जा तथा निक्षेप सुरक्षण कोषवापतको प्रिमियम शुल्क महँगो देखिएको, कोषमा वार्षिकरुपमा अर्बौं रकम थुप्रिदै गएको भए पनि उचित उपयोग समेत हुन नसकिरहेको अवस्थालाई दृष्टिगत गर्दै प्रिमियम शुल्क घटाउनु उचित देखिन्छ ।

५ आधार दर गणनामा शतप्रतिशत सञ्चालन खर्च र सम्पत्तिमा ०.७५ प्रतिशत प्रतिफल समावेश गरी गणना गर्न पाउने व्यवस्था थप तर्कपूर्ण, वास्तविक र बैंज्ञानिक देखिने भएकोले आधार दर गणनाको उक्त व्यवस्था लागु गरिनु औचित्यपूर्ण देखिन्छ ।

६ हाल बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा लगानीको वृद्धिदर न्यून रहेको र पूँजी पर्याप्तता समेत उच्च रहेको वर्तमान अवस्थामा  बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानीमा थप भार पर्ने देखिएको हुँदा उक्त व्यवस्था हाललाई खारेज गरिनुपर्दछ ।

७ असल कर्जामा १.२५ प्रतिशत  मात्र कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था सकारात्मक भए पनि पर्याप्त देखिँदैन । तसर्थ, यस्तो व्यवस्थालाई एक प्रतिशत कायम गर्नु मनासिव देखिनेछ ।

८ वाणिज्य बैंकहरुमा जस्तै प्रदेश तथा स्थानीय तहले पायक पर्ने विकास बैक तथा वित्तीय संस्थाहरुमा समेत खाता सञ्चालन गर्न सक्ने व्यवस्था गर्दा दुरदराजमा सञ्चालनमा रही गुणस्तरी बैकिङ सेवा प्रदान गरेका विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई प्रोत्साहन मिल्ने देखिन्छ ।

९ आवधिक कर्जाभन्दा चालु पूँजी कर्जा सस्तो हुँदा त्यसको सही उपयोग नहुन सक्ने अधिक सम्भावनालाई ध्यान दिई आवधिक कर्जाभन्दा चालु पूँजी कर्जा सस्तो नहुने व्यवस्था गरिनु उपयुक्त देखिन्छ ।

१० अन्तर्राष्ट्रिय बैंकिङ अभ्यास र नेपालका अन्य क्षेत्रमा समेत रहेको प्रचलनबमोजिम सेवा शुल्क तोक्ने अधिकार स्वयं बैंक तथा वित्तीय संस्थाहरुमा रहने व्यवस्था गर्नु उपयुक्त देखिन्छ ।