काठमाडाैं – कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले जिआइजेड, ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटजस्ता संस्थाहरूद्वारा व्यवस्थापन तथा प्रवर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनाअन्तर्गत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको जनाएको छ।
योजनाअन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैंकबाट कर्जा लिँदा, आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नुपर्ने सुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरूसमेत पाउनेछन्।
त्यसैगरी इन्धनमा आधारित सार्वजनिक सवारीसाधनहरू सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारीसाधनहरूलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यसका लागि ऋणीहरूले परियोजनामा आबद्ध सवारीसाधन आपूर्तिकर्ताहरूबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजातसहित कुमारी बैंकको शाखाहरूमा सम्पर्क गर्नुपर्नेछ।
यस योजनाअन्तर्गत समावेश गरिएका अनुदानहरूले ऋणीहरूको सुरुवाती पुँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोगसँगै प्रदूषणसमेत कम गर्न सकिनेजस्ता बहुआयामिक लाभहरू प्राप्त हुने बैंकका दिगो बैंकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले बताए।






About Us
प्रतिक्रिया