सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सक्नेछन्।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।