प्रभु बैंकका सीईओ शेरचनसहित चार जनालाई अनुसन्धान गर्न ३ दिन म्याद थप


काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित चार जना माथि अनुसन्धानका लागि ३ दिन म्याद थप गरिएको छ।

उच्च अदालत पाटनले शेरचन, डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवाज श्रेष्ठ, गुण एअरलाईन्सका संचालक राजेन्द्र शाक्य माथि अनुसन्धानका लागि ३ दिन म्याद दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता शिव कुमार श्रेष्ठ बताउँछन्। 

शेरचनसहित ३ जनालाई सीआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो। पक्राउ गरेपछि अनुसन्धानका लागि सुरुमा १५ गते ५ दिन, १९ गते २ दिन, २२ गते ५ दिन र अहिले ३ दिनका लागी म्याद लिएको हो।

सीआईबीले प्रभु बैंकबाट प्रवाह भएको गुणस्तरहीन कर्जाको विषयमा छानबिन गर्नका लागि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्दैछ।

उनीहरूलाई राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गराउने कसुरमा संलग्न रहेकाले पक्राउ गरिएको थियो।