बैंहरूको नाफामा गिरावट, पहिलो चार महिनामा कमाए १९ अर्ब  


काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको नाफामा गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले झन्डै साढे १९ अर्ब नाफा कमाएका हुन्। कात्तिक मसान्तसम्ममा बैंकहरुले १९ अर्ब ३७ करोड ५४ लाख बराबरको खुद नाफा कमाएका छन्। उता गत वर्ष बैंकहरूले यस अवधिमा २२ अर्ब २९ करोड ८६ लाख नाफा आर्जन गरेका थिए। 

गत भदौमा भएको जेनजी आन्दोलन र कर्जामा प्रवाह हुन नसक्दा बैंकहरूको नाफामा गिरावट आएको हो। चार महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंकमा ग्लोबल आईएमई रहेको छ। यस अवधिमा बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। साथै, धेरै नाफा कमाउनेको दोस्रोमा नबिल बैंक रहेको छ। बैंकले कात्तिकसम्ममा २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ।

यस्तै, प्राइम कमर्सियल बैंकले कात्तिक मसान्तसम्ममा १ अर्ब ५८ करोड ६० लाख, एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख, एनएमबी बैंकले १ अर्ब २७ करोड ५७ लाख, कुमारी बैंकले १ अर्ब १८ करोड २ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यसैगरी, चालु आर्थिक वर्षको पहिलो चार महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमाले ७७ करोड ९२ लाख, प्रभुले ७३ करोड ७७ लाख, नेपाल एसबीआईले ६७ करोड २० लाख, सिद्धार्थले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ९ लाख, लक्ष्मी सनराइजले ६२ करोड ८१ लाख, माछापुच्छ्रेले ६० करोड ९९ लाख, कृषि विकास बैंकले ७ करोड ४९ लाख, एनआइसी एशिया बैंकले ३ कराेड ४३ लाख रूपैयाँ, सिटिजन्स बैंकले १ करोड ६४ लाख नाफा आर्जन गरेका छन् ।