रवि लामिछानेले बिगो बुझाएर थुनामुक्त हुन माग गरेको मुद्दा हेर्न नमिल्नेमा 


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व प्रहरी नायव महानिरीक्षक (डीआइजी) एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशद्वय सागर विष्ट र तेजनारायण पौडेलको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको हो।

कार्तिक १३ गतेबाट लगातार पेसी चढेको लामिछाने र जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ। मंसिर ११ गते तोकिएको पेशी लामिछाने कै कानून व्यवसायीको अनुरोधमा स्थगित भएपछि आजका लागि पेशी तोकिएको थियो। उनले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरेता पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन्।

सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए। तर, उक्त निवेदनलाई जिल्ला अदालत रुपन्देहीले बदर गरेको थियो।