काठमाडौं – कास्कीका विभिन्न स्थानमा हालसालै बढिरहेका चोरीका घटनाको सम्बन्धमा अनुसन्धान चलाउँदै आएका प्रहरी टोलीले दुई जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूको समन्वयमा गरिएको खोजतलासपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले प्युठान स्थायी वतन भएका सुमित थापा मगर र धादिङ स्थायी वतन भएका सुजन परियारलाई पोखराबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरू चार स्थानमा चोरी गरेका थिए । जसमा दुई स्थानमा दुवै जना संलग्न थिए, भने दुई स्थानमा मगर संलग्न रहेका थिए । उनीहरूले पोखरा लक्ष्मी ट्रेडर्समा टेबलको घर्रा फोडीबाट ४१,००० नगद तथा राष्ट्रिय परिचयपत्र, चालक अनुमति पत्र, नागरिकता लगायतका कागजात रहेको झोला, पोखरा–४, आदर्श मार्गबाट सडक किनारमा पार्किङ गरिएको होण्डा डियो ९ग १५ प १०२०० स्कुटर, पोखरा–१७, ड्यामसाइडबाट आरुस स्टोर्स प्रालिको ढोका फोडी २ लाख ७३ हजार नगद र पोखरा–८, न्यूरोडको एसबी वाइन सप अगाडि पार्किङ गरिएको गाडीबाट लाइसेन्स, बिलबुक, कार्ड तथा रु ३हजार रहेको झोला चोरी गरेका प्रहरीले जनाएको ।
साथै, प्रहरीका अनुसार मगर अभद्र व्यवहार, चोरी उद्योग, चोरी र केही सार्वजनिक अपराध समेत गरी ८ पटकसम्म पक्राउ परी कारागारमा रहेका थिए, तर जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भई पुन चोरी गरेको र परियार यस भन्दा अगाडी अभद्र व्यवहार मुद्दामा पक्राउ परेको थिए।
प्रहरीका अनुसार दुवै जना पोखरा महानगरपालिका–३, नदिपुरमा बस्दै आएका थिए। उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थपी अनुसन्धान अघि बढाइएको छ।






About Us
प्रतिक्रिया