सालपा विकास बैंकको आइपीओमा आजदेखि आवेदन दिन सकिने 


काठमाडौं – सालपा विकास बैंक लिमिटेडले आज मंसिर २५ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो। बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।

 जसमध्ये १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। 

इच्छुक लगानीकर्ता सो आईपीओमा आजदेखि मंसिर २९ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।