रवि लामिछानेको मुद्दामा सुनुवाइ हुँदै, छुट्लान् आज ? 


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व प्रहरी नायव महानिरीक्षक (डीआइजी) एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आज सुनुवाइ हुँदैछ। जसका लागि आज पनि पेशी तोकिएको छ। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रविविरुद्धको मुद्दामा यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएता पनि निरन्तर सरिरहेको छ।

मंसिर ११ गते तोकिएको पेशी लामिछाने कै कानून व्यवसायीको अनुरोधमा स्थगित भएपछि आजका लागि पेशी तोकिएको हो। उनले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरेता पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन्।

सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए। तर उक्त निवेदनलाई जिल्ला अदालत रुपन्देहीले बदर गरेको थियो।

यता, चुनाव नजिकिँदै गर्दा रवि थुनामुक्त हुनसक्ने आशङ्का सुरु भएको छ। प्रधानमन्त्री नहुँदादेखि नै सुशिला कार्कीले रवि निर्दोष भएको दाबी गर्दै आइरहेकी थिइन्। जसका कारण पनि रविका समर्थकहरूले आज नै पेशी भएर रवि छुट्न सक्ने बताइरहेका छन्। उनी विरुद्ध विभिन्न स्थानका सहकारीको रकम अपचलनको आरोप रहेका कारण आज नै उनी छुट्नेमा भने आशङ्का नै छ।