काठमाडौं – बीमा कम्पनीको नाफामा उल्लेख्य गिरावट आउन थालेको छ। गत भदौ २३/२४ भएको जेनजी आन्दोलन र असोजको बेमौसमी बाढी पहिरोका कारण नेपालमा बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको हो।
गत भदौमा भएको जेनजी आन्दोलनमा भएको भौतिक तथा अन्य क्षतिको २३ अर्ब ४४ करोड रुपैयाँ बीमा दावी परेको छ। जसमध्ये हालसम्म ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ भुक्तानी गरेको बीमा प्राधिकरणको तथ्यांक छ। बीमा कम्पनीहरूले गर्ने दावी भुक्तानी बढ्दा कम्पनीको नाफामा प्रत्यक्ष प्रभाव पर्छ।
यस्तै, असोजमा आएको बाढी पहिरोले इलामसहित विभिन्न क्षेत्रमा भएका क्षतिहरूका कारण निर्माणाधीन अवस्थामा रहेको तथा सञ्चालनमा आइसकेका हाइड्रो प्रोजेक्टमा क्षति हुँदा तथा सवारी साधन तथा घरका क्षतिबाट बढी दावी आएको छ। असोजको बाढीबाट मात्रै बीमा कम्पनीहरूमा ३ अर्ब बढी दावी परेको छ।
बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार आन्दोलन र बाढीका कारण वित्तीय सूचक प्रभावित देखिएको हो। पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा १ अर्ब ९५ करोड ६४ लाख ऋणात्मक छ। जेनजी आन्दोलन र बढीका कारण सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये १२ वटाले घाटा व्यहोर्नु परेको हो।
कुन कम्पनीको नाफा कति ?
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स बाहेक अन्य सबै निर्जीवन बीमा कम्पनीहरूले नोक्सान व्यहोरेका छन्। असोज मसान्तसम्म प्रभु इन्स्योरेन्स कम्पनीले ६ करोड ३१ लाख नाफा कमाएको छ भने नेशनल इन्स्योरेन्स कम्पनीले ३ करोड ८१ लाख नाफा आर्जन गरेको छ।
यता, असोज मसान्तसम्ममा सबैभन्दा बढी घाटा व्यहोर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ। यस अवधिमा कम्पनीको नाफा २९ करोड ८५ लाख ऋणात्मक रहेको छ। यस्तै, दि ओरियन्टल इन्स्योरेन्सको २८ करोड ४८ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २६ करोड ७३ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २० करोड ७६ लाख, सानिमा जिआइसी इन्स्योरेन्सको २० करोड २ लाख नाफा ऋणात्मक छ।
त्यस्तै, शिखर इन्स्योरेन्सको १५ करोड ८५ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको १५ करोड ११ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १० करोड ९३ लाख, एनएलजी इन्स्योरेन्सको १० करोड १० लाख, नेपाल इन्स्योरेन्सको ९ करोड ६३ लाख, राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ९ करोड ९५ लाख र नेको इन्स्योरेन्सको ८ करोड ३१ लाख खुद नाफा ऋणात्मक छ।
बीमा कम्पनीको नाफामा लगानी सीमाको प्रत्यक्ष प्रभाव
शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेकाअनुसार बीमा कम्पनीहरूमा जेनजी आन्दोलनका क्षतिको कारण परेको बढी बीमा दावीले अधिकांश बीमा कम्पनीहरूले घाटा व्यहोर्नु परेको हो। उनकाअनुसार प्राधिकरणले लगानीको सीमा तोक्दा बैंकहरूले कम ब्याजदरमा नै बैंकमा पैसा राख्नुपर्ने बाध्यता छ । जसले पनि नाफा प्रभावित बनेको छ।
बीमा कम्पनीहरूको लगानीलाई सुरक्षित राख्न भन्दै बीमा प्राधिकरणले बीमा कम्पनीलाई बीमकको लगानी सम्बन्धी निर्देशन नै जारी गरेर लगानीको सीमा तोकेको छ। प्राधिकरणले यसरी कम्पनीहरूलाई सीमा नै तोकिदिँदा बीमा कम्पनीहरू बैंकमा मात्रै लगानी गरेर बस्न बाध्य छन्। यता हाल बैंकको ब्याजदर घट्दा बीमा कम्पनीले बैंकमा राखेको लगानीको राम्रो प्रतिफल पाउन सकिरहेका छैनन्।
बीमा कम्पनीहरूले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचत पत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशत लगानी गर्न पाउने भएका छन्। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघु जीवन बीमा, लघु निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूका लागि बेग्ला बेग्लै लगानीसम्बन्धी व्यवस्था गरेको छ।
इन्भेष्टमेन्ट कम्पनीको शेयरमा कुल लगानीको पाँच प्रतिशतसम्म लगानी गर्न मिल्ने प्राधिकरणको व्यवस्था छ। बीमा कम्पनीहरूले नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म र घरजग्गा व्यवसायमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउनेछन्।






About Us
प्रतिक्रिया