‘मनी म्यूल’को घटनामा राष्ट्र बैंक ससंकित, समिति नै बनाएर अध्ययन गर्ने तयारी 

बैंक खाताको विशेष अध्ययन गर्ने तयारी 


काठमाडौं – ‘मनी म्यूल’सम्बन्धी घटना तीव्र रूपमा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकको ध्यान यतातर्फ गएको छ। यही समयमा केन्द्रीय बैंकले औपचारिकरूपमा अध्ययन तथा नियन्त्रणका लागि विशेष अध्ययन समिति नै गठन गरेर यसको बारेमा अध्ययन गर्ने तयारी गरेको हो।

बढ्दो अनलाइन भुक्तानी, अनलाइन ठगी तथा बैंक खाता दुरुपयोग हुने क्रम बढ्दै जाँदा ‘मनी म्यूल’का नेटवर्क सक्रिय भएको भन्दै राष्ट्र बैंकले जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेर यसको अध्ययन गर्न लागेको हो। अरू व्यक्तिले अवैध रूपमा प्राप्त गरेको पैसा आफ्ना खातामार्फत रकम स्थानान्तरण गर्ने व्यक्तिलाई ‘मनी म्यूल’ भनिन्छ।

विभिन्न ठगी समूहहरूले सर्वसाधारणलाई कमिशनको लोभ देखाएर ‘मनी म्यूल’ बनाउने गरेको पाइन्छ । बैंक खाता भाडामा माग्दै बैंक खातामार्फत अवैध रकम सार्ने गरेको पाइन्छ। यस्तो प्रवृत्तिले वित्तीय प्रणालीको स्थायित्वमै खतरा बढेको भन्दै केन्द्रीय बैंकले चासो दिइरहेको छ।

हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। यता बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता जनसंख्याको तुलनामा दोब्बर छ। जनसंख्याभन्दा बढी निक्षेप खाता हुँदा पनि राष्ट्र बैंकले मनी म्यूलको आशंका गरेको हो। हाल बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता ६ करोड ६ लाख ९१ हजार ९५६ रहेको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल जनसंख्याभन्दा दोब्बर निक्षेप खाता देखिँदा राष्ट्र बैंकले यस विषयमा चासो देखाएको बताए। उनले जनसंख्याको ठुलो अंश जसमा पनि बालबालिका र वृद्धवृद्धा बैंकिङ्ग पहुँच बाहिर रहेको भन्दै बैंक खाता अनावश्यक रूपमा खोलिएर निष्क्रय भएका खाताको बारेमा अध्ययन गर्न लागेको बताए। बैंकमा भएका निष्क्रिय खाताले ‘एन्टी मनी लाउन्डरिङ’को ‘कन्बेटरिङ फाइनान्सिङ’लाई बढवा दिने गरेको हुनसक्ने उनको बुझाई छ। 

यता, साइबर अपराध नियन्त्रणमा संलग्न अधिकारीहरूले विद्यार्थी, बेरोजगार युवा तथा सामाजिक सञ्जालमार्फत सक्रिय समूहहरू बढी प्रभावित भएको बताउँदै आएका छन्। उनीहरूकाअनुसार मनी म्यूलको दुरुपयोग भएको रकम प्राय अन्तर्राष्ट्रिय ठगीमा संलग्न ग्रुपहरूसँग जोडिदा अनुसन्धान झनै जटिल बनिरहेको बताउँछन्।

केही समयअघि जिल्ला प्रहरी कार्यालय पर्साले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको थियो । उनीहरूले ‘मनी म्युल’ खाता खोल्न लगाएर उक्त खाताहरूमा सामाजिक सञ्जाल मार्फत फिसिङ, ओटिपी, फ्रड, जब स्क्याम तथा फेक अनलाइन र एआईबाट विभिन्न कम्पनीको आवश्यक पर्ने कागजातहरू बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा संलग्न गरेको पाइएको थियो।

‘मनी म्युल’ नबन्न राष्ट्र बैंकको सुझाव

नेपाल राष्ट्र बैंकले ‘मनी म्यूल’ लाई निकै चासोको साथ हेरिरहेको समयमा सर्वसाधारणलाई ‘मनी म्यूल’ नबन्न पनि पटक–पटक सुझाव दिँदै आएको छ। केन्द्रीय बैंकले ‘मनी म्यूल’ हुनबाट जोगिन सावधानी अपनाउन पनि सुझाव दिएको छ। आफ्नो बैंक खातामा अरूको पैसा राख्दा वा कसैलाई आफ्नो खाता प्रयोग गर्न दिँदा ठुलो जोखिम हुने भन्दै राष्ट्र बैंकले आफ्नो खाता नम्बर, पासवर्ड र व्यक्तिगत विवरण नचिनेका व्यक्तिलाई कहिल्यै नदिन केन्द्रीय बैंकले आग्रह गरेको छ।  

यसैगरी ‘लामो समयको सजिलो पैसा’ भन्नेजस्ता प्रस्ताव स्वीकार नगर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ । यस्ता कार्यले कानूनी दायरामा समेत पुर्‍याउन सक्ने उल्लेख गर्दै आएको छ।