सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूध कुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशीगाउँपालिकाको वडा नं.१ को स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् ४० लाख कित्ता तथा सोलु दूध कुण्ड नगरपालिका र थुलुङ दूधकोकी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात् ६० लाख कित्ता बाँडफाँट गरिनेछ।

उक्त, आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आज बैंकिङ्ग समयभित्रमा आवेदन दिन सक्नेछन् ।