१३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


बैकिङ्ग समाचार,काठमाडौं  । 

नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । 

आउँदो असोज १५ गते ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो । 

विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको बैंकले असोज १४ गते ऋणपत्रको बोलकबोल हुने जनाएको छ । 

इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन बैंकले सूचना गरेको छ । 

२०८० असोज १५ गते बिक्री हुने ऋणपत्र आगामी २०८८ असोज १५ गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याज भने प्रत्येक ६÷६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ । 

कूल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । 

खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् ।