नलिन्चोक हेलिप्याड प्रकरण:

१३ करोड बढी भ्रष्टाचार, क्यानका महानिर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारीसमेत ६ जना र अभियन्त्र कन्सल्टिङ्ग प्रालिमाथि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेकाे छ ।

अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणमा व्यापक अनियमितता, कानूनी उल्लङ्घन र बदनियतपूर्वक सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको ठहर गर्दै उनीहरुकाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार बिना सम्भाव्यता अध्ययन, बिना सरकारी स्वीकृति, बिना वातावरणीय प्रभाव मूल्यांकन र बिना आवश्यक खरिद योजना नै परामर्श सेवा तथा निर्माण प्रक्रिया अघि बढाइएको थियो। प्राधिकरणका विभिन्न तहका अधिकारी, इन्जिनियर र निजी परामर्शदाता कम्पनीबीच मिलेमतो गरी अपूरो र त्रुटिपूर्ण डिपिआर तयार गराई हेलिपोर्ट निर्माण प्रक्रियालाई हचुवामा अघि बढाएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।

नलिन्चोक हेलिप्याड ‘असुरक्षित’, ‘अनुपयुक्त’ र ‘सञ्चालनयोग्य नै नभएको’ भनेर पाइलट, प्राविधिक टोली, अन्तर्राष्ट्रिय मापदण्डअध्ययन, इन्जिनियरिङ संस्थान तथा प्राधिकरणकै छानबिन समितिहरूले गरेको निष्कर्षका बाबजुद पनि १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरिएको आयोगले बताएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा कुल बिगो रकम असुल–उपर गरिदिन माग गरिएको अख्तियारले जनाएको छ ।