काठमाडौं – प्रभु म्यानेजमेन्टमा देखिएको ठगी प्रकरणको अनुसन्धान पुरा नगरी सरकारी वकिल कार्यालयको दबाबमा अनुसन्धान नसकेरै देवी प्रकाश भट्टचनलाई छाड्न बाध्य भयो । म्यानेजमेन्टले विदेशबाट भित्रिएको रेमिट्यान्स वितरणका क्रममा ३६ वटाभन्दा बढी सहकारीको भुक्तानी बाँकी रहेको तथ्य छरपस्ट रहँदारहँदै सीआईबीले छाड्न परेको थियो ।
वर्षौँदेखि राजनीतिक पहुँचका आधारमा ३ दर्जनभन्दा बढी सहकारीको रकम अपचलन भएको थियो । तर पनि प्रभु समूहका सञ्चालक, प्रभु बैंकका पूर्व अध्यक्ष तथा प्रभु म्यानेजमेन्टका सञ्चालक रहेका भट्टचन प्रहरीको पहुँचभन्दा बाहिर रहे । यस क्रममा कात्तिक दोस्रो साता पक्राउ परेर दुई/तीन पटक म्याद थपेपछि सरकारी वकिल कार्यालयले छाड्न भन्यो र सीआईबीले छाड्यो ।
तर, हिरासतबाट मुक्त गरे पनि सीआईबीले अनुसन्धान रोकेको छैन । स्वास्थ्यमा समस्या आएकाले छाड्न परे पनि सीआईबीले मिहिन ढंगले भट्टचनलाई अहिले पनि निगरानीमा राखिरहेको छ र उनीमाथिको आरोपमाथि नजिकबाट अनुसन्धान गरिरहेको छ । यसबाहेक, उनीविरुद्धको अनुसन्धानबाट निस्केको निचोड अदालत बुझाइसकेको छ।
अदालतमा ‘फाइल’ पुगे पनि भट्टचन थुनामुक्त छन् । ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीका आधारमा भट्टचन ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दामा भट्टचन गत कात्तिक ११ मा पक्राउ परेका थिए । जसमा पूर्व व्यवसायीक साझेदार कुसुम लामा समेतको जाहेरी थियो । तर, सीआईबीले अनुसन्धान गर्दा गर्दै नै सरकारी वकिल कार्यालयले उनलाई थुना मुक्त गर्ने निर्देशन दिएपछि १५ दिनमा थुनामुक्त बनेका थिए ।
सो घटनामा अदालतले गर्ने आगामी प्रक्रियाले उनी पुनः पक्राउ पर्ने वा अन्य कानुनी कारबाहीमा पर्ने सम्भावनाबारे धेरैलाई चासो बढेको छ । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार सीआईबीले घटनाबारे विस्तृत अनुसन्धान सकिएको र त्यसका सबै कागजात तथा प्रमाणसहितको फाइल अदालतमा पठाइएको छ । उनका अनुसार अनुसन्धानको लक्ष्य कुनै व्यक्तिलाई मात्र केन्द्रित गर्ने नभएर संलग्नहरुलाई कानूनी दायरामा ल्याउने हो ।
‘घटनामा जो–जो संलग्न छन्, उनीहरूलाई कानुनी दायरामा ल्याउनु हो,’ श्रेष्ठले भने, ‘अनुसन्धान व्यक्तिमाथि होइन, घटनामा आधारित हुन्छ । यस प्रकरणमा संलग्न जो–कोही भए पनि कानुनले छुट दिन्न ।’ यहीकारण, सीआईबीले अनुसन्धान गरेर अदालतमा फाइल पेस गरिसकेकाले थप कामकारबाही अदालतबाटै हुने उनको तर्क छ । तर, आवश्यकमा परेमा पक्राउ नपर्ने तथ्य भने नकारेनन् ।
यस घटनामा संलग्न पूर्व शेयर धनी तथा हालका सहायक लेखा प्रमुख हेम कुमार महाजु अझै थुनामा नै छन् । सोही कारण, अदालतको आदेशअनुसार आवश्यक परे सीआईबीले थप कारबाही तथा गिरफ्तारी प्रक्रिया अगाडि बढाउन सक्नेछ । यस घटनाबारे प्रत्यक्ष संलग्नता, आर्थिक लेनदेन, निर्णय प्रक्रियामा भूमिका तथा कागजातमा देखिएका अनियमितताका आधारमा कानुनी निष्कर्षमा पुग्ने प्रक्रिया अब अदालतमै केन्द्रित भएको छ ।
सीआईबीले आफ्नो काम पूरा गरेको बताइरहेका बेला, अब सबैको ध्यान अदालतको आगामी कदममा पुगेको छ । यही घटनासहित बैंकिङ्ग कसुरको मुद्दामा यतिबेला प्रभु बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत नै थुनामा छन् । उनी सीआईबीको थुनामा रहेर अदालतबाट म्याद थपको अनुमति पाइसकेको छ । शेचरनमाथिको अनुसन्धानबाट खुल्ने तथ्यले समेत भट्टचन पुनः पक्राउ पर्ने वा नपर्ने विषय टुङ्गो लाग्नेछ ।





About Us
प्रतिक्रिया