प्रभु बैंक प्रकरणः कर्जा दुरुपयोगको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। सीआईबीले बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा सञ्चालक शाक्यलाई पक्राउ गरेको हो। 

ललितपुरको ललितपुर महानगरपालिका– ३ पुलचोक बस्ने उनलाई प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामा समेत संलग्न भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको अध्ययन विश्लेषण गर्ने क्रममा उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

शाक्यलाई प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन समेत संलग्न रहेको बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गराएको कसुरमा पक्राउ गरिएको हो। उनलाई ललितपुर जावलाखेल भनमिण्डलबाट पक्राउ गरी थप अनुसन्धान जारी राखेको सीआइबीले जनाएको छ।