वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व


वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड रुपैयाँ र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड रुपैयाँ राजस्व उठाएको छ ।

कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड रुपैयाँ , कपडाबाट चार अर्ब २५ करोड रुपैयाँ, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब सात करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।