नेपाललाई सहुलियतपूर्ण वित्तीय सहायता जरुरतः अर्थमन्त्री महत

नेपाललाई सहुलियतपूर्ण वित्तीय सहायता जरुरतः अर्थमन्त्री महत


बैंकिङ्ग समाचाार, काठमाडौं । 

अर्थमन्त्री प्रकाशशरण महतले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका गभर्नरहरुको वार्षिक बैठकलाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकलाई सहुलियतपूर्ण वित्तीय सहायताको आवश्यकता रहेको औंल्याएका छन् ।

इजिप्टको सार्म इल शेखमा बैठकलाई सम्बोधन गर्दै महतले कम र मध्यम आय भएका मुलुकहरूको आर्थिक विकास गर्न र नागरिकको जीवनस्तर सुधार गर्न विद्यमान वित्तीय साधनको कमी पूरा गर्नेगरी बहुपक्षीय विकास साझेदार र अन्तर्राष्ट्रिय संस्थाबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताए । ‘एसियाली पूर्वाधार लगानी बैंकबाट सहुलियतपूर्ण वित्तीय सहायता प्राप्त भएमा समतामूलक र दिगो विकासलाई प्रवर्द्धन गर्न र सदस्य मुलुकबीच रहेको विविधकतालाई सम्बोधन गर्न महत्त्वपूर्ण कदम हुनेछ’ उनले भने ।

महतले परम्परागत स्रोतको माध्यमबाट मात्र पूर्वाधार विकासका लागि वित्तीय साधनको आवश्यकता परिपूर्ति गर्न नसकिने भएकाले सार्वजनिक निजी साझेदारी, हरित, बन्ड, समिश्रित वित्त लगायतका नयाँ र उन्नत वित्तीय उपकरणको विकास गर्नेतर्फ समेत एसियाली पूर्वाधार लगानी बैंकले ध्यान दिनुपर्ने बताए । ‘नेपालजस्ता जलवायु परिवर्तनबाट बढी प्रभावित हुने मुलुकका लागि जलवायु वित्तलाई समेत वृद्धि गर्नुपर्ने र परियोजनाहरूमा जलवायुका मुद्दाहरूलाई आन्तरिकीकरण गर्नेतर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।