पाँच लाखभन्दा बढीको कारोबार अब बैंकबाट मात्रै


काठमाडौं – सरकारले आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार निषेध गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अब एकपटकमा ५ लाख रुपैयाँसम्मको वस्तु वा सेवाको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था लागू हुँदैछ।

यसअघि यस प्रकारको सीमा १० लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबारमा थियो। सरकारले वित्तीय कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन, कारोबारमा पारदर्शिता अभिवृद्धि गर्न यस्तो निर्णय गरेको सरकारले बताएको छ।

यसभन्दा बढी मूल्यको कुनै पनि वस्तु वा सेवा खरिद–बिक्री तथा अन्य वित्तीय कारोबार बैंक तथा वित्तीय संस्था मार्फत मात्र गर्नुपर्नेछ। बैंकिङ्ग चेक, भौचर, अनलाइन ट्रान्जेक्सन, मोबाइल बैंकिङ्ग, कार्ड जस्ता बैंकिङ्ग उपकरणको प्रयोग अनिवार्य हुने सरकारको भनाइ छ।