प्रभुका सीईओ शेरचनसहित तीन जनालाई अनुसन्धान गर्न पाँच दिन म्याद थप 


काठमाडौं – प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनिराम पोखेरल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठविरुद्ध अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अदालतबाट पाँच दिन म्याद पाएको छ । उच्च अदालत पाटनले सोमबार सीआईबीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले बताए ।

बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो । प्रभु बैंकका सीइओ शेरचनले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी बैंकलाई हानी नोक्सानी पुर्याएकाे तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको सीआईबीले जनाएको छ ।