राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने तीन जना प्रहरीको फन्दामा 


काठमाडौं – राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाइ अतिरिक्त रकम लिने, दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारी समेतको कामकारबाहीमा अवरोध पुर्‍याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौंका ४५ वर्षीय मनराज श्रेष्ठ, बझाङको बित्थडचिर घर भई काठमाडौंको कीर्तिपुर बस्ने १९ वर्षीय  हेमन्त सिंह ओखेडा र प्युठान घर भई ललितपुरको महालक्ष्मी बस्ने ३० वर्षीय दिपेश केएम रहेका छन्। 

उनीहरूले सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाइ अतिरिक्त रकम लिने कार्य गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएका प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई  नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।