बढ्न थाल्यो कर्जाको माग, भदौमा मात्रै ४४ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह

बढ्न थाल्यो कर्जाको माग, भदौमा मात्रै ४४ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 
लामोसमयदेखि करिब ठप्प रहेको कर्जाको माग भदौ लागेयता बढ्न थालेको छ । चैत मसान्तमा समग्र वित्तीय क्षेत्रको कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब हाराहारी रहेकोमा साउन मसान्तसम्म ४८ अर्ब ५९ अर्ब रुपैयाँ थियो । त्यस्तै वाणिज्य बैंकको कर्जा प्रवाह चैत मसान्तमा ४३ खर्ब १ अर्ब रहेकोमा साउन मसान्तमा ४२ खर्ब ९९ अर्ब रुपैयाँ थियो ।

भदौ १० गते वित्तीय क्षेत्रको समग्र कर्जा प्रवाह ४८ अर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकको कर्जा प्रवाह ४३ खर्ब १३ अर्ब पुगेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० भदौमा ४४ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा २२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । यो झन्डै दोब्बरले वृद्धि भएको तथ्याङ्गक हो । 

त्यस्तै, कर्जा प्रवाह ठप्प भएपछि दबाबमा परेको बैंकहरु निर्माण तथा व्यवसायिक  क्षेत्रलाई चलायनमान बनाउने भन्दै घर कर्जामा केन्द्रित भएका छन् । त्यस्तै, लामो समयदेखि गाडीको व्यापार कमजोर रहेको अवस्थामा हालै सम्पन्न अटो व्यवसायको कुम्भ मेला नाडा अटो सोले पनि गाडीको व्यवसाय फस्टाउने अनुमान गरिएको छ । 

गत वर्ष कर्जा प्रवाह जम्मा ३.४२ प्रतिशतले बढेको थियो । बाह्य क्षेत्रलाई सन्तुलनमा ल्याउन आयातमा गरिएको कडाइले एलसी खोल्ने क्रम निरुत्साहित हुँदा कर्जाको माग नभएको भन्ने बुझिएको छ भने समष्टिगत मागमा पनि कमी आएको छ । कित्ताकाट रोकिँदा घरजग्गा कारोबार पनि प्रभावित भयो  र सोचेअनुरुप घर–जग्गा कारोबार नहुँदा भएको पैसा सबै बैंक तथा वित्तीय संस्थामा फ्रिज भएको कि भन्ने प्रक्षेपण गरिएको थियो । तर मन्दीतर्फ गएको अर्थतन्त्र विस्तारै लयमा फर्किने अपेक्षासँगै कर्जा प्रवाह पनि बढेको अनुमान लगाइएको छ । 

सरकारले अर्थतन्त्र चलायमान बनाउने भन्दै वर्गीकरण नसकिए पनि घरजग्गा कारोबार खुला गरेको छ । गत वर्ष कर्जाको मागमा सुस्तताका कारण दबाबमा परेका बैंकहरुले अहिले कर्जा प्रवाह बढाउन उपाय खोजिरहेका छन् । भदौ ३१ सम्म बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम झन्डै सवा ४ खर्ब छ । यसमध्येको ६३ अर्ब रुपैयाँ स्थानीय तहको हो ।

गत वर्ष बैंकहरु स्रोतको दबाबमा पनि थिए । प्राथमिक पुँजीकोषमाथि परेको दबाबका कारण कतिपय बैंक लगानी गर्न सक्ने अवस्थामै थिएनन् । उनीहरु कर्जा असुलीमा केन्द्रित भए । विभिन्न कारणले कर्जा प्रवाह हुन नसक्दा बैंकहरुको नाफा वृद्धि पनि ५.९२ प्रतिशतमा सीमिति भएको छ । अघिल्लो वर्ष ६६ अर्ब २५ करोड खुद नाफा गरेका बैंकहरुले गत वर्ष ७० अर्ब १७ करोड नाफा गरेका छन् ।

बैंकहरुको वितरणयोग्य नाफा १३ अर्बले घटेको छ । अघिल्लो वर्ष ४७ अर्ब ३७ करोड रहेको बैंकहरुको वितरणयोग्य नाफा गत वर्ष २७.४६ प्रतिशतले घटेर ३४ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।