काठमाडौं – प्रहरीले अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गर्दै आएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया– २० घर भई हाल डल्लु, काठमाडौं बस्ने २३ वर्षीय मोहम्मद सेफ रहेका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–११ भद्रकालीबाट पक्राउ गरेकाे प्रवक्ता पवन कुमार भट्टराईले बैंकिङ्ग समाचारलाई जानकारी दिए।
प्रहरीले मंसिर १० गते साँझ ६ बजेतिर भद्रकाली क्षेत्रमा केही व्यक्तिहरूले अभौतिक मुद्रा कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारेको थियो। सो क्रममा पक्राउ परेका सेफको साथबाट विभिन्न कम्पनीका २ थान मोबाइल फोन फेला पारिएको प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानमा उनले नेपाली रुपैयाँ १९ करोड ८१ लाख ४९ हजार ५८१ बराबरको क्रिप्टोकरन्सी कारोबार गरेको खुल्न आएको छ। नेपालमा क्रिप्टो कारोबार गैरकानुनी भएकाले उनीविरुद्ध ‘अभौतिक मुद्रा प्रयोग गर्न नहुने’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ।
काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।






About Us
प्रतिक्रिया