वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन


वीरगञ्ज – वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व संकलन गरेको छ। महानगरले सो अवधिमा सम्पत्ति करतर्फ सात करोड ५६ लाख रुपैयाँ रकम संकलन गरेको हो।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे ‘महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौँ। यद्यपि अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने संकलन हुन सकिरहेको छैन,’ उनले भने, ‘यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ।’

महानगरले चालु आवको चार महिनामा भूमिगत-मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० राजस्व संकलन गरेको छ। त्यस्तै घरवहाल करतर्फ भने एक करोड ६० लाख ८६ हजार रुपैयाँ रकम उठाएको छ। त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने दुई करोड राजस्व संकलन गरेको छ।

अखेटोपहारमा लाग्ने करतर्फ भने पाँच करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। अन्य सेवा शुल्कतर्फ भने एक करोड ४९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ।