सिद्धार्थ बैंकको बदमासी – ३

सिद्धार्थ बैंकबाट धोखाधडी भएपछि राष्ट्र बैंकमा उजुरी, न्यायको आसमा धाउँदै पीडित


काठमाडौं – सिद्धार्थ बैंकले १९ करोड रुपैयाँ ऋण स्वीकृत गरेर भुक्तानी नदिएपछि व्यवसायी विभा सिंह नेपाल राष्ट्र बैंकमा उजुरी दिएकी छिन् । बैंकबाट उद्योग स्थापनका लागि १९ करोड रुपैयाँ ऋण स्वीकृत भएपनि सोअनुसारको भुक्तानी नदिँदा आर्थिक समस्यामा परेपछि कारबाहीका लागि राष्ट्र बैंकमा उजुरी दिएकी हुन् ।

उनले नेपाल राष्ट्रका गभर्नर डा. विश्वनाथ पौडेलको नाममा बैंकविरुद्ध उजुरी दर्ता गरेकी छिन् । केन्द्रीय बैंकको गुनासो शाखामा उजुरी दर्ता गरेपछि राष्ट्र बैंकले सम्बन्धीत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भेट्न समेत भनेको छ । सोअनुसार सिंहले प्रमुख कार्यकारी अधिकृत भेट्न खोजेपनि डेपुटी सीईओसँग मात्रै भेट भएको बताइन् ।

‘सीईआले एक केही दिनमा भेट्ने भनेपनि एक महिना बितिसक्यो,’ उनले बैंकिङ्ग समाचारसँग भनिन्, ‘तर अहिलेसम्म कुराकानी हुन सकेको छैन ।’ यद्यपि, बैंकका प्रतिनिधिसँग भेटेर क्षेत्रीय प्रतिनिधिले गरेको बदमासी र सो बदमासीका कारणले आफूलाई परेको मारबारे बताए पनि बैंकले समाधानका लागि पहल नगरेको उनको भनाई छ ।

यस्तै, बैंकका सीईओले यसबारे जानकारी पाएपछि व्यवसायको विस्तृत योजना बुझाउन भनेको सिंहले बताइन् । उनले नेपाल राष्ट्र बैंकमा आफूलाई अन्याय भएकाले न्याय दिलाउनका लागि भन्दै पत्र लेखेर गुनासो दर्ता गरेकी थिइन् । उनले बैंकले आफूहरूले गरेको कामलाई गलत चित्रण गर्दै स्वीकृत कर्जा वितरणमा रोक लगाउँदा समस्यामा परेको पत्रमा लेखेकी छिन् ।