वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– ३ बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– ३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौं महानगरपालिका– २४ बस्ने ४२ वर्षीय बिशाल बज्राचार्य र काठमाडौं महानगरपालिका– ४ बस्ने लमजुङ दोर्दी गाउँपालिका– ६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन्।

पक्राउ मध्ये अमृतले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिशालले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४७ हजार ५ सय रूपैयाँ र पुड्केले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमृतलाई काठमाडौं महानगरपालिका–११ बाट सोमबार तथा बिशाल र पुड्केलाई काठमाडौं महानगरपालिका– १२ बाट मंगलबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको  छ।