वार्षिक १३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त रहेको गर्भनर अधिकारीको भनाई 

वार्षिक १३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त रहेको गर्भनर अधिकारीको भनाई 


बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् ।

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत निर्यात हुने र उक्त परिमाणको विद्युत निर्यात गर्न विकास गर्नुपर्ने विद्युत आयोजनाका लागि लगानी समस्या नहुनेसमेत स्पष्ट पारे ।

इप्पान अध्यक्ष गणेश कार्कीले बैंकले विद्युत आयोजनामा लगानी गर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्ने पर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गरेका थिए । जवाफमा अधिकारीले बैंक सँग लगानीको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताएका हुन् । 

राष्ट्र बैंकले २०० मेगावाट भन्दा ठूला आयोजनालाई आधार दरमा १ प्रतिशत मात्र थप गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिरहेकोले उक्त व्यवस्था सबै जलविद्युत आयोजनामा कार्यान्वयन गरिदिन इप्पानले आग्रह गरेको छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन अनुसार निर्माणाधिन अवस्थाको ब्याज आम्दानीलाई लाभांश बाड्न नमिल्ने र मोराटोरियम प्रियड थप गर्दाको अवस्थामा कर्जा पुनरसंरचना÷पुनरतालिकरण भएको मानि १२.५ प्रतिशतको कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएकाले बैंक तथा वित्तीय क्षेत्र यस क्षेत्रमा थप लगानी गर्न हतोत्साहित भएको इप्पानको भनाई छ । यसमा  निर्माणाधिन अवस्थाको ब्याज आम्दानीबाट समेत लाभांश बाड्न पाउने यस अघिकै व्यवस्थालाई निरन्तरता दिन इप्पानले माग गरेको छ ।

नपाली बैंक वित्तीय संस्थाले ऊर्जामा लगानी गरेको रकमको ब्याज अत्याधिक महँगो भएको भन्दै नेपाल सरकारको जमानतमा अन्तराष्ट्रिय बजारबाट नविनतम् वित्तीय उपकरणहरु जस्तैः सोभरियन बण्ड वा ग्रीन बण्ड वा जलवायु बण्डको माध्यमबाट वित्तीय स्रोतको जोहो गरी नेपाल राष्ट्र बैंक मार्फत स्वच्छ ऊर्जाको क्षेत्रमा पुनरकर्जाको व्यवस्था गरिदिन पनि इप्पानले अनुरोध गरेको थियो ।

इप्पानले बाढी प्रभावित आयोजनालाई सम्बोधन गरि दिन पनि आग्रह गरेको छ । उनले आयोजनालाई राहत दिने विषय राष्ट्र बैंकले अघि बढाइसकेको बताए ।

इप्पानसँगको भेटमा राष्ट्र बैंकका गभर्नर अधिकारीसँगै डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र देव कुमार ढकाल लगायत सहभागी थिए भने इप्पानका तर्फबाट अध्यक्ष कार्की सँगै वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं, उपाध्यक्ष राम प्रसादा आचार्य र उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, सदस्य सुसन कर्माचार्य र कुवेर मणि नेपाल सहभागी भएका थिए ।