स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ, ३ लाख ३७ हजार बरामद 


काठमाडौं – प्रहरीले विभिन्न स्थानबाट स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ गरेको छ। सर्लाहीको  मलंगवा नगरपालिका–८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा– ४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो। 

साथै, सिराहाको  सिरहा नगरपालिका– १७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३ सय रुपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो.गुलसाह रहेका छन्।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।