काठमाडौं – पछिल्ला वर्षहरूमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा क्रमिक रूपमा उजागर हुँदै आएका घोटालाहरूले आम जनतामा बैंकिङ्ग प्रणालीप्रति विश्वास गम्भीर रूपमा घट्दै गएको छ। एक समय सबैभन्दा विश्वसनीय मानिएको बैंकिङ्ग क्षेत्र अहिले आफ्नै उच्च अधिकारी र कर्मचारीहरूको अनियमित व्यवहारका कारण विवादमा तानिएको हो।
नेपालको बैंकिङ्ग इतिहासमा सबैभन्दा चर्चित घोटालामध्ये कर्णाली विकास बैंक प्रकरणलाई आज पनि उदाहरणका रूपमा लिइन्छ। सो बैंकको घोटाला प्रकरणमा १०९ जना प्रतिवादी रहेका थिए। बैंकका सञ्चालकदेखि कर्मचारीसम्मको संलग्नताले बैंक पूरै डुबानमा पुगेको थियो।
यस्तै, किस्ट बैंकको पतन पनि त्यही शैलीमा भएको थियो। तत्कालीन किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनालमाथि ऋण दुरुपयोग र अनियमितताको गम्भीर आरोप लागेको थियो। अदालतले उनीहरूलाई सात वर्ष कैद सजाय सुनाएको थियो। ज्ञवालीले कैद पूरा गरेर हाल मात्र थुना मुक्त भएका हुन्।
यति मात्र होइन प्रभु बैंकमा पनि अहिले ठुलो कर्जा अपचलनको घटना सीआईबीको अनुसन्धानको क्रममा छ। जसमा बहालवाला कार्यकारी अधिकृत अशोक शेरचनसहित चार जना पक्राउ परिसकेका छन् भने प्रभु म्यानेजमेन्ट र प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनसहित पक्राउ परेर छुटेका छन्। तर, सीआईबीले उनलाई प्रभु म्यानेजमेन्ट ठगी प्रकरणमा प्रतिवादी नै बनाएर अदालतमा अभियोग पत्र बुझाएको छ।
यी तीन घटना मात्र नभएर पछिल्ला वर्षहरूमा अन्य बैंकहरू पनि उच्च तहका कर्मचारीका कारण विवादमा तानिँदै आएका छन्। देशका ‘क’ वर्गका वाणिज्य बैंकदेखि विकास बैंक र वित्त कम्पनीसम्मका शीर्ष तहका अधिकारीहरू बैंकको रकम अपचलन, ठगी, ऋण दुरुपयोग र आन्तरिक स्वार्थमा आधारित अनियमित गतिविधिमा संलग्न हुँदै जाँदा जनताको भरोसा निरन्तर कमजोर बन्दै गएको हो। बैंककै उच्च तहका कर्मचारीका कारण बैंक तहसनहस भएका छन्।
वित्तीय क्षेत्रका यस्ता घटनाहरू बढ्नुमा नेपाल राष्ट्र बैंकलगायत नियामक निकायहरूको कमजोर निगरानी प्रमुख कारण भएको सरोकारवाला निकाय बताउँछन्। लगातार उजागर भइरहेका यस्ता प्रकरणहरूले सर्वसाधारणमा बैंक तथा वित्तीय संस्थाप्रतिको पारदर्शिता माथि नै प्रश्न उठाएको छ।
कर्णाली र किस्टबाहेक सेन्चुरी बैंकका सीईओको रूपमा काम गरेका प्रभु बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र बैंकका अर्का पूर्व प्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई पनि प्रहरीले पक्राउ गरेको थियो। यस्तै, सेन्चुरी बैंककै तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई समेत गत वर्षको जेठमा पक्राउ गरेको थियो।
त्यस्तै, प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन पनि ९८ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेर छुटेका छन् भने नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारले ऋण दिलाई दिएबापत घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। साथै, प्रभु बैंकका सीईओ लगायत तीन जनालाई प्रभु बैंकको केन्द्रीय कार्यालयबाट नै पक्राउ परे।
किष्ट बैंक
किष्ट बैंकका कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई ऋण दुरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो। जम्को प्रकाशन प्रालिका नाममा कर्जा प्रवाह क्रममा बैंकिबैंकिङ्ग कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले ४ असोज २०७३ मा ज्ञवालीका साथै उनकी श्रीमती गौरी खनाल (ज्ञवाली), किश्वर ढकाललाई मुख्य कसुरदार ठहर गरेको थियो। कमल र गौरीलाई ६ करोड २५ लाख रुपैयाँका दरले बिगो र जरिवाना सजाय समेत सुनाएको थियो।
साथै, किशोर ढकाललाई ५० लाख रुपैयाँ जरिबाना कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिबाना र पतिको प्रभाव र पारिवारिक अवस्था भन्दै कमलकी पत्नी गौरीलाई भने ३ वर्ष मात्रै कैद फैसला गरेको थियो। प्रभु ग्रुपले ३० भदौ २०७१ मा किस्ट बैंकलाई एक्वायर गरेर प्रभु बैंक बनायो। प्रभु बैंकले १३ माघ २०७१ मा तत्कालीन किस्ट बैंकमा रहेको ज्ञवालीको सेयर बेचेर साँवा ब्याजसहित २३ करोड रुपैयाँ असुल गर्यो।
सेन्चुरी बैंक
सेन्चुरी बैंकबाट पर्याप्त धितो बिना ऋण विस्तार गरेको बैंकिङ्ग अपराधको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकसँग गाभ्नु अघि २०२२ मा सेन्चुरी बैंकको सीईओको रूपमा काम गरेका प्रभु बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र बैंकका अर्का पूर्व प्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई २०८० फागुन १५ गते पक्राउ गरेको थियो।
साथै, सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई समेत गत वर्षको जेष्ठमा पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ, सदस्यहरू सुनिलकुमार न्यौपाने, गीता प्रधान, रमेश कुमार निरौला, रण बहादुर श्रेष्ठ, राजेश कुमार दली, उमा कुमारी श्रेष्ठ र शिव गोपाल रिसाल रहेका थिए।
नेपाल बैंक
नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक पनि यस्ता विवादबाट जोगिन सकेको छैन। सरकारी स्वामित्वमा रहेको नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारले ऋण दिलाइ दिएबापत घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको थियो।
प्रभु बैंक
त्यस्तै, प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष तथा प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचनसहित ७ जना, प्रभु मनि ट्रान्सफर र प्रभु म्यानेजमेन्टविरुद्ध ठगी प्रकरणमा रकम अपचलन गरेको अरोपमा जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठ बताउँछन्।
साथै, सोही प्रभु म्यानेजमेन्टबाट ठगी भएको केसमा प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मार्दा सीआईबीले लगेको कागजातको अनुसन्धान गर्ने क्रममा एक वर्ष अघि नै परेको उजुरीमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, रेमिट्यान्स विभाग प्रमुख सुगेन शाक्य र गुण एयरलायन्सका राजेन्द्र शाक्य पक्राउ परेका छन्।
कर्णाली विकास बैंक
यस्तै, कर्णाली विकास बैंकका उच्च पदमा रहेका व्यक्तिहरुले बैंकको नाममा विभिन्न बैंकहरुबाट ऋण लिएर बैंकको रकम अपचलन गर्दा अझैसम्म पनि बैंकको १ अर्ब ५० करोड २२ लाख ऋणात्मक नै रहेको छ। भने, केन्द्रिय अनुसन्धान ब्युरोले १०९ जनालाई प्रतिवादी बनाएको थियो। बैंकका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, वित्त शाखा प्रमुखका साथै, राष्ट्र बैंकका पूर्व कर्मचारी समेतको यस बैंक घोटालामा संलग्नता रहेको थियो।
यस प्रकरणको सुरुवात २०७० साल तिर बाट नै भएको पाइएको थियो। राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत लिएर २०६० फागुन २२ गते राजेन्द्रवीर राय र पशुपति दयाल मिश्र लगायत १४ जना मिलेर नेपालगन्ज– १२, बाँकेमा कर्णाली विकास बैंकको स्थापना गरेका थिए। स्थापना गरेको १० वर्ष पछि नै उनीहरूले बैंकको रकममा आफ्नो व्यक्तिगत तवरले नै प्रयोग गर्न थालेका थिए।






About Us
प्रतिक्रिया