काठमाडौं – सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कँडेलको तलब भत्ता राष्ट्र बैंकको निर्देशिका विपरीत बढेको पाइएको छ। राष्ट्र बैंकले २०७९ फागुनमा ‘सीईओको तलब भत्ता तथा सेवा सुविधा सम्बन्धी मार्गदर्शन’ संशोधन गर्न लागेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागी सीईओको तलब बढाउन तथा समायोजन गर्न नमिल्ने बताएको थियो।
राष्ट्र बैंकका नियमन विभागका तत्कालीन कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारीहरूको तलब भत्ता तथा सुविधाहरूको पुनरावलोकन सम्बन्धमा अध्ययन भइरहेकोले त्यस संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा सुविधाहरूको हाललाई वृद्धि नगर्न र नगराउन भनेका थिए ।
सो निर्देशन पश्चात् केन्द्रीय बैंकले सीईओको तलब भत्ता तथा सेवा सुविधा सम्बन्धी कुनैपनि व्यवस्था परिवर्तन गरेको छैन। यसको मतलब अहिले पनि राष्ट्र बैंकले सिद्धार्थ बैंकको सीईओले तलब बढाउन सक्ने व्यवस्था गरेको छैन। तर, बैंकका सीईओ कँडेलले बैंकले आर्थिक वर्ष २०८०/८१ मा ९६ लाख ३९ हजार १ सय ८७ रुपैयाँ भुक्तानी गरेको थियो ।
तर, गत आर्थिक वर्षको अवधिमा सीईओको तलब बढेर ९९ लाख ३७ हजार ७ सय २८ रुपैयाँ भुक्तानी गरेको तथ्य बाहिरिएपछि सिद्धार्थ बैंकले राष्ट्र बैंकको निर्देशन नै अटेरी गरेको पुष्टि भएको हो। बैंकले एक वर्षको अवधिमा सीईओको तलब ३ लाख ५९ हजार बढाएको हो। जबकि बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा समग्र कर्मचारीमा २ अर्ब ४४ करोड ९२ लाख खर्च गरेको छ।
बैंकले सीईओलाई दिने तलब बढेपछि पनि बैंकले समग्र कर्मचारीलाई दिने नगद भुक्तानी पनि बढेको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब १३ करोड ४४ लाख खर्चिएको थियो। यो तथ्य बाहिरिएपछि नेपाल राष्ट्र बैंकले बैंकविरुद्ध कस्तो ‘एक्सन’ लिन्छ भन्ने विषय भने हेर्न बाँकी छ।



About Us
प्रतिक्रिया