सिद्धार्थ बैंक मुख्य प्रायोजक रहेको एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी, बैंकको ब्राण्ड नै बिग्रँदै

रन आउटको १ करोड अफर !


काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा म्याच ‘फिक्सिङ’को बिगबिगी देखिएको छ। नेपालकै सबैभन्दा ठुलो खेलकुद प्रतियोगिताकारुपमा रहेको यो लिगमा सिद्धार्थ बैंकले ५ वर्षका लागि मुख्य प्रायोजकको अधिकार लिएको छ। जसका लागि कम्तीमा पनि २० करोड रुपैयाँ खर्च गरेको बताइन्छ।

यसपटक यो लिग दोस्रो सिजनमा चलिरहेको छ। जसमा सट्टेबाजको बिगबिगी देखिन थालेको छ। पहिलो सिजनमा अत्याधुनिक पूर्वाधार बिना नै खेलहरु सञ्चालनमा आएको थियो। तर, यो सिजन भव्य रंगशालामा खेलहरु भइरहेपनि सट्टेबाजको बिगबिगीले खेलहरुलाई नै छायाँमा पार्ने जोखिम बढेको छ।

जसकारण, आफ्नो ब्राण्ड बनाउने लक्ष्यसहित प्रायोजनबापत प्रतिसिजन कम्तीमा ४ करोड रुपैयाँ दिँदै आएको बैंकको ब्राण्ड नै बिग्रने जोखिम बढेको छ। किनकि, भारतबाट आएका सट्टेबाजहरुले एनपीएलमा रनआउटका लागि १ करोड रुपैयाँसँम्मको अफर गर्न थालेका छन्।

अहिलेसम्म नेपाल प्रहरीले कम्तीमा ९/१० जनालाई पक्राउ गरिसकेको छ। यही कसुरमा भारतको हरियाणा रानीमहाल पानीपतका दिलप्रित सिंह र बर्दियाको बारबर्दिया घर भई भारतको चण्डिगढ बस्ने रेविका सिंह ठकुरीलाई काठमाडौंको लजिम्पाटबाट प्रहरीले पक्राउ गरेको थियो। 

उनीहरू भारतबाट काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा ‘म्याच फिक्ङि’ गर्न आएको प्रहरीको अनुसन्धानले देखाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आर्चायका अनुसार उनीहरुले खेलको हारजीतमा प्रभाव पार्नका निम्ति एक करोड रुपैयाँ सम्मको प्रलोभन देखाएको भन्ने अपुष्ट सूचना प्रहरीमा आइपुगेको छ।

उनीहरुले खेलाडीहरुलाई ह्वाट्सएप र म्यासेन्जरमा सम्पर्कको प्रयास गरिरहेका छन्। यसबाहेक प्रहरीले यही साताको आइतबार नै ८ जना भारतीयलाई नियन्त्रणमा लिएको छ। उनीहरुले समेत एनपीएलका खेलमा सट्टेबाजको प्रस्ताव लिएर आएको देखिन्छ।

करोडौं खर्च गरेको सिद्धार्थको ब्राण्ड बिग्रने जोखिम

सिद्धार्थ बैंकले खेलकुदमार्फत आफ्नो ब्राण्ड स्थापित गर्ने योजना बनाएपनि यी गतिविधिले बैंकको ब्राण्ड नै जोखिममा पर्ने देखिएको छ। किनकि, बैंकले प्रतिसिजन कम्तीमा ४ करोड रुपैयाँ प्रायोजनबापत दिँदै आइरहेको छ। तर, सट्टेबाजीका कारण बैंकलाई समस्या पर्न थालेको हो। बैंकले सट्टेबाजीको प्रस्ताव आउने प्रतियोगितामा लगानी गरेको भन्दै आन्तरिक छलफल सुरु भइसकेको बताइन्छ। 

यस्तो छ नेपालमा सट्टेबाजको इतिहास

त्यस्तै, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी अनुभवी क्रिकेटर मेहबुब आलम, क्रिकेटर मोहम्मद आदिल आलम (आदिल अन्सारी), नितेश गुप्तालाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले  म्याच फिक्सिङ केसमा नै पक्राउ गरेको थियो ।  

खेलहरुमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र नेपाल क्रिकेट संघ (क्यान) को व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टर्सका सञ्चालक जतिन अलुवालियाको समूहले फिक्सिङका लागि खेलाडीहरुलाई अफर गरेको देखिएको थियो। सो खेलको प्रति खेलमा खेलाडीले ६ देखि ८ लाख पाउने अफर गरिएको थियो । स्पट फिक्सिङका लागि छ खेल खेल्दा कम्तीमा ३६ लाख पाउने लोभ देखाइएको थियो।  

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा २०७९ पुस ९ देखि २७ गतेसम्म सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिगमा लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने क्रियाकलाप गरेकाले पक्राउ गरेको थियो । 

त्यसअघि म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी २०७२ सालमा  पक्राउ परेका थिए। थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका थिए। अन्तराष्ट्रिय फुटबलमा नेपालले लगातार खराव नतिजा हात पारिरहेको बेला कप्तानसहितका खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए।

फिक्सिङ गर्नेलाई कस्तो हुन्छ सजाय ?

नेपालमा पनि म्याच फिक्सिङमा संलग्न रहेको ठोस आधार भेटिएपछि पक्राउ परेका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसूरमा कारबाही अघि बढाइने गरिन्छ। म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरू कानुनी र खेलकुद दुवै प्रक्रियाबाट निर्दोष ठहरिए मात्र पुनः खेलमा फर्कन सक्ने सम्भावना हुन्छ। तर, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार दोषी प्रमाणित भएमा उनीहरूलाई जेल सजाय, जरिवाना र खेल गतिविधिमा प्रतिबन्ध लगाइनेछ।