एनपिएलमा सट्टेबाजी गर्ने आठ जना भारतीय नागरिक पक्राउ 


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। दोस्रो संस्करण चलिरहेको समयमा अनलाइन माध्यमबाट अवैध सट्टाबाजीमा संलग्न आठ जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साई कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका छन्।

क्रिकेट एसोसिएशन अफ नेपालद्वारा मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको एनपीएलमा क्रिकेट प्रतियोगितामा खेलको हारजितमा रकम लगाई betacular.live नामक वेबसाइटमार्फत सट्टाबाजी गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रमा बसेर उनीहरू अवैध अनलाइन बेटिङ सञ्चालन गर्दै आएका थिए। नियन्त्रणमा लिएपछि बरामद १५ थान मोबाइलको प्राविधिक विश्लेषण गर्दा सट्टाबाजीमा संलग्न रहेको प्रमाण भेटिएको प्रहरीले बताएको छ। 

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ उपदफा ४ अनुसार सट्टाबाजी गर्न वा गराउन नहुने कसुरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ। यसअघि यस कार्यालयबाट खटिएका प्रहरीले खेलाडीलाई म्याच फिक्सिङ गर्न उक्साएको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो ।