नेप्सेमा सूचीकृत ४५ कम्पनीले गरे लाभांश घोषणा

सबैभन्दा धेरै हाइड्रोपावर, कुनको कति ?


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरेका छन्। हालसम्ममा ४५ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।हालसम्म लाभांश घोषणा गरेका ४५ कम्पनीमध्ये १० वटा वाणिज्य बैंक रहेका छन् भने ७ वटा विकास बैंकहरु रहेका छन्। 

त्यस्तै, १२ वटा हाइड्रोपावर, २ वटा फाइनान्स कम्पनी र ५ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन्। त्यसैगरी, इन्भेस्टमेन्टतर्फ २ कम्पनी र उत्पादनमूलक क्षेत्रबाट ५, होटल एण्ड टुरिजम अन्तर्गत १ कम्पनीले लाभांश घोषणा गरेका छन्।

नेप्सेका अनुसार हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये उत्पादनमूलक क्षेत्र अन्तर्गत युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा बढी प्रतिफल घोषणा गरेको छ। कम्पनीले प्रतिकित्ता १८ सय ४२ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ।

त्यस्तै, दोस्रो सर्वाधिक लाभांश एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टले दिएको छ। यो कम्पनीले ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ भने सेञ्चुरी इनर्जीले कूल ३५ प्रतिशत लाभांश घोषणा गरेको तथ्यांक नेप्सले दिएको छ। यसैगरी पर्यटन क्षेत्रतर्फबाट सोल्टी होटेलले ३१.५७ प्रतिशत लाभांश घोषणा गर्दा हिमालयन डिष्टिलरीले बोनश शेयर २० प्रतिशत र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

यी हुन लाभांश घोषणा गरेका बैंक

हालसम्म विकास र वाणिज्य बैंक गरी बैंकिङ्ग क्षेत्रबाट १७ वटा बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। जसमा विकास बैंकबाट मितेरी, गरिमा, मुक्तिनाथ, कामना विकास बैंकले लाभांश घोषणा गरेका छन्। यस्तै, शाइन रेसुङगा, महालक्ष्मी र सांग्रिला डेभलपमेन्ट बैंकले समेत लाभांश घोषणा रहेका छन्।

हाल लाभांश घोषणा गर्ने विकास बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिफल दिनेमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १८.२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा बैंकले १३.५३ प्रतिशत बोनश शेयर र ४.६७ प्रतिशत नगद लाभांश रहेको छ। त्यस्तै, कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो।

त्यसैगरी, शाइन रेसुङगा डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ। यससँगै, गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद लाभांश रहेको छ। यस्तै, महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनश शेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश रहेको छ। साथै, मितेरी डेभलपमेन्ट बैंकले समेत आफ्ना शेयरधनीका १० प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ।

साथै, वाणिज्य बैंकबाट माछापुच्छ्रे, सानिमा, ग्लोबल आईएमई, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंकले लाभांश घोषणा गरेको छ। त्यस्तै, एभरेष्ट, सिद्धार्थ , कृषि विकास र लक्ष्मी सनराइज बैंकले समेत आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। जसमध्ये कुमारी बैंकले भने यस वर्ष पनि शेयरधनीको हात खाली बनाएको छ। कुमारी बैंकले ३ वर्षदेखि लगातार शेयरधनीको हात खाली बनाएको हो।

हाल लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा धेरै प्रतिफल दिने बैंकहरूमा एभरेष्ट बैंक छ। यस बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरि जम्मा २० प्रतिशत लाभांश घोषणा गरेको छ। स्ट्यान्डर्ड चार्टर्डले १९ प्रतिशतको नगद लाभांश दिने घोषणा गरेको छ। यस्तै, माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगदसहित ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ।

त्यस्तै, गत वर्षको नाफाबाट यस वर्ष सानिमा बैंकले ७ दशमलव ३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। कृािष् विकास बैंकले ३ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ९ दशमलव ७५ प्रतिशत नगद गरि १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यसैगरी, सिटिजन्स बैंकले ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश गरि ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ।

त्यस्तै, सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५६ प्रतिशत लाभांश घोषणा गरेको छ। साथै, ग्लोबल आइएमई बैंकले ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सानिमा बैंक र ग्लोबल आइएमई बैंकका लगानीकर्ताले यस वर्ष नगद लाभांश मात्रै प्राप्त गर्नेछन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस्तै, एनएमबिले ५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ।

कुन हाइड्रोपावरले कति दियो लाभांश ?

हालसम्ममा सबैभन्दा लाभांश घोषणा गर्नेमा हाइड्रोपावर सेक्टरका कम्पनीहरु रहेका छन्। यस सेक्टरबाट हाल १२ कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन्। जसमा मिड सोलु, सिक्लेस, अरुण भ्याली, सेञ्चुरी इनर्जी, सिङगटी हाइड्रो इनर्जी, साहास उर्जा, हिलटन हाइड्रो इनर्जी, युनिभर्सल पावर कम्पनी, भगवती हाइड्रोपावर, माउन्टेन इनर्जी, हाइड्रो डेभलोपर्स लिमिटेड र मादी हाइड्रोपावरले लाभांश घोषणा गरेका छन्।

जसमा मिड सोलु हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई समान १५/१५ प्रतिशत बोनश शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यसैगरी, सेञ्चुरी इनर्जीले २५ प्रतिशत बोनश र १० प्रतिशत नगद गरी ३५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यसैगरी, सिङगटी हाइड्रो इनर्जीले ५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ । यससँगै, हिलटन हाइड्रो इनर्जीले ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनश शेयर ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

त्यसैगरी, भगवती हाइड्रोपावरले कुल २० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। जसमा १४ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। साहस उर्जा लिमिटेडले बोनस शेयर २१ प्रतिशत र १.१०५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यस्तै, माउन्टेन इनर्जी नेपालले २१.०५२६ प्रतिशत, यूनिभर्सल पावरले ९.४७४ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सले ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

फाइनान्स र माइक्रो फाइनान्सको कति ?

साना किसान लघुवित्त, गुराँस लघुवित्त, आरएसडीसी लघुवित्त, स्वावलम्बन लघुवित्त र आशा लघुवित्त गरी ५ माइक्रो फाइनान्स संस्थाहरुले लाभांश घोषणा गरेका छन्। त्यस्तै, आईसीएफसी फाइनान्स र मन्जुश्री गरी हालसम्म दुई फाइनान्सले लाभांश घोषणा गरेका छन्। जसमा साना किसान लघुवित्तले १५ प्रतिशत र स्वावलम्बन लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गरेका छन्।

त्यस्तै, गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा गर्दा आरएसडीसी लघुवित्तले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यससँगै, आशा लघुवित्तले १० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । साथै, आईसीएफसी फाइनान्सले १५.७८९ प्रतिशत नगद लाभांश र मन्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

४ उत्पादनमूलक उद्योगको घोषणा, अन्य कुन कुनले गरे ?

इन्भेस्टमेन्ट सेक्टर अन्तर्गत हाथवे इन्भेस्टमेन्टले १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ६.३१५८ प्रतिशत र नेपाल ल्युब आयलले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। यसबाहेक, सर्वाेत्तम सिमेन्टले २० प्रतिशत तथा  सिवम् सिमेन्टले १२.५० प्रतिशत र हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश घोषणा गरेका छन्। यसबाहेक, मुक्तिनाथ कृषिले ८.४२ प्रतिशत नगद लाभांशसँगै ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको छ।