काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु म्यानेजमेन्टको रकम ठगी प्रकरणमा संलग्न एक जनालाई पक्राउ गरेको छ। ठगी, आपराधिक विश्वासघात,आपराधिक लाभ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका पूर्व शेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेम कुमार महाजुलाई सीआईबीबाट खटिएको प्रहरीको टोलीले ललितपुरको गोदावरी नगरपालिका–३ टौखेलबाट पक्राउ गरेको हो।
ठाकुर प्रसाद मानन्धरसहितले दर्ता गराएको जाहेरीका आधारमा दुवै पक्ष नेपाल सरकार वादी तथा कुसुम लामा प्रतिवादी रहने गरी दायर मुद्दामा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको हो। अनुसन्धानको क्रममा सङ्कलित प्रमाणअनुसार प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंक लिमिटेडको खातामा विभिन्न व्यक्तिहरूको नामबाट पटक–पटक शङ्कास्पद रूपमा १० लाख नबढ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँ दरले पटक पटक शङ्कास्पद रूपमा रकम जम्मा भएको सीआईबीले बताएको हो।
प्रारम्भिक अनुसन्धानले रेमिट्यान्स कारोबारको आवरणमा कम्पनीले रेमिट रकम भुक्तानी मात्रै गर्नुपर्नेमा, सोही दिन पटक–पटक ठुलो मात्रामा शङ्कास्पद रकम खातामा जम्मा भएको तथा सोही खातामार्फत हुन्डी मार्फत नेपाल भित्र्याइएको रकम मिलान गरिएको देखिएको सीआईबीले जनाएको छ।
उक्त अवैध कारोबारमा संलग्न रहेको आशंकामा पूर्व शेयरधनी तथा कम्पनीको लेखा शाखामा कार्यरत महाजुसमेत प्रत्यक्ष रूपमा संलग्न रहेको देखिएको हो। उनी प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खाताका सञ्चालकहरूमध्ये एक रहेका छन्। पक्राउ परेका महाजुमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।






About Us
प्रतिक्रिया