राजस्वको भरपर्दो माध्यम बन्न सक्छ क्रिप्टोकरेन्सी


काठमाडौं – संयुक्त राज्यको क्रिप्टोकरेन्सी बजारले सन् २०२४ मा लगभग ४९.७९ बिलियन राजस्व तिरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको तथ्यांक छ। क्रिप्टोकरेन्सीबाट नै कति राजस्व उठ्यो भन्ने वास्तविक तथ्यांक भने भेटिदैन्। अमेरिकाले सन् २०२५ मा क्रिप्टोकरेन्सीबाट अमेरिकी डलर १६.१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

यस्तै, क्रिप्टोकरेन्सीको कारोबारबाट अमेरिकाले सन् २०२६ मा १६.७ अर्ब अमेरिकी डलर राजस्व उठाउने लक्ष्य राखेको छ। विश्वव्यापी रूपमा तुलना गर्दा अमेरिका क्रिप्टोकरेन्सी बजारमा सबैभन्दा बढी राजस्व संकलन गर्ने देश हो। यता अमेरिकामा संस्थागत लगानीकर्ताहरू क्रिप्टोकरेन्सी बजारमा प्रवेश गर्ने क्रम जारी छ। संस्थागत लगानीकर्ताहरू क्रिप्टो बजारमा प्रवेश गर्ने लहर चल्दा चालु वर्ष सन् २०२५ मा ४६.३९ प्रतिशत प्रयोगकर्ता थपिने आंकलन गरिएको छ भने आगामी वर्ष सन् २०२६ सम्म ४७.७६ प्रतिशत पुग्नेछ। यसले क्रिप्टोको बजार मूल्यमा सुधार आउने बताइएको छ।

अमेरिकालाई क्रिप्टोको राजधानी बनाउँदै ट्रम्प

अमेरिकाको राजस्वमा क्रिप्टोकरेन्सीको कारोबारले उल्लेखनीय योगदान पुर्याएको देखिन्छ। यता अमेरिकाका हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी एजेण्डा नै क्रिप्टोकरेन्सीको राजधानी बनाउने घोषणा गरेका थिए। उनको यो अभिव्यक्तिले पनि उनलाई चुनावी जित हासिल गर्न सहयोग गरेको हो। ट्रम्पले चुनाव जितेको केही समय क्रिप्टोकरेन्सी कारोबारमा लगातार सुधार समेत आएको थियो। ट्रम्पको जितसँगै बिटक्वाइनको मुल्य ८० हजार अमेरिकी डलरले वृद्धि भएको थियो।

ट्रम्पको जितसँगै बिटक्वाइनको मुल्यमा मात्रै नभई डोजक्वाइन जस्ता अन्य क्रिप्टोकरेन्सीमा पनि भारी वृद्धि देखिएको थियो । जो बाइडेनले क्रिप्टो मार्केटलाई कडाइ गरेका थिए। बाइडेन प्रशासनको आलोचना गर्दै ट्रम्पले क्रिप्टोकरेन्सीलाई खुकुलो बनाएर यसबाट फाइदा हुनेगरी कार्य अघि बढाएका हुन्। क्रिप्टोकरेन्सीको बजारलाई पूर्ण समर्थन गर्दै आएका ट्रम्पले क्रिप्टो व्यवसाय नयाँ र उदाउँदै गरेको उद्योग भएको बताउँदै आइरहेका छन्।

कुन-कुन देशको राजस्वमा पार्दैछ क्रिप्टोले प्रभाव ?

क्रिप्टोकरेन्सीलाई वैद्य गरेका देशहरुले यसबाट नाफा लिइरहेका छन्। क्रिप्टो बजारबाट केहि देशहरू सहज स्वीकृति, नियामक स्पष्टता वा संस्थागत संलग्नताका कारण बढी लाभान्वित हुने गरेको पाइन्छ। अमेरिकासहित विभिन्न देशको राजस्वमा क्रिप्टोकरेन्सीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। स्विजरल्याण्ड, दुवै, पोर्चुगल, माल्टाले पनि विभिन्न व्यवस्था नै गरेर क्रिप्टो व्यवसाय र लगानीकर्ताहरूलाई आकर्षित गरेर लाभ लिएको पाइन्छ।

सन् २०२५ मा स्विजरल्याण्डको क्रिप्टो क्षेत्रबाट झण्डै ४४६।१ मिलियन अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ । पोर्चुगलका क्रिप्टोकरेन्सी कम्पनीहरूले करिब ४३।५ मिलियन डलर संकलन गरेका जसले राजस्वमा समेत सहजता प्रदान गरेको छ ।

नेपाली राजस्वको भरपर्दो माध्यम बन्न सक्छ ?

क्रिप्टोकरेन्सीको लागी नीतिगत र कानुनी व्यवस्था नहुँदा नेपालले क्रिप्टोलाई अवैध मान्दै आएको छ। नेपालमा क्रिप्टोकरेन्सीले राजस्वको भरपर्दो माध्यम बन्न सक्ने सम्भावना नभएको भने होइन। यसमा कानून नै बाधक बनेको छ। हाल हाल नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध मानिएको छ। यता नेपाल राष्ट्र बैंकले पनि यसलाई नियमन गरेको छैन। क्रिप्टोकरेन्सीलाई नियमन गर्नेगरी करको दायरामा ल्याउन सके राजस्वको नयाँ स्रोत बन्ने यस क्षेत्रका विज्ञहरु बताउँछन्।

यदि क्रिप्टोकरेन्सी कारोबारलाई वैधानिकता दिएर नियमन गर्ने हो भने सरकारले क्रिप्टो सम्पत्तिमा लाग्ने पूँजीगत लाभकर, लेनदेन कर, वा अन्य करहरू लागू गर्न सक्छ। चालु आर्थिक वर्षको बजेट छलफलमा सांसद वासुदेव घिमिरेले पनि क्रिप्टो कारोबारलाई करको दायरामा ल्याएर राजस्व वृद्धि गर्न सक्ने बताएका थिए।

क्रिप्टोकरेन्सीमा आधारित ब्लकचेन प्रविधिले नेपालको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन सक्छ। यसले इ–कमर्स, अन्य डिजिटल सेवाहरूलाई प्रोत्साहन गरी कर संकलनको दायरा बढाउन सक्ने बताइन्छ।

ब्लक चेनले पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा पनि सहयोग गर्न सक्ने हुँदा कर प्रणाली पनि थप प्रभावकारी हुनसक्छ। क्रिप्टोले साना तथा मझौला उद्योगको विकास र बजारीकरणमा सहयोग गर्न सक्छ। युवा पुस्ताको प्रविधिप्रति बढ्दो रुचिलाई उपयोग गर्दै क्रिप्टो कारोबारलाई नियमन गरे क्रिप्टो कारोबारबाट राजस्व संकलन गर्न सकिन्छ ।

यता,विदेशी लगानीमा प्रतिबन्ध लगाउने ऐन, २०२१ ले क्रिप्टोमा लगानीलाई प्रतिबन्ध गरेको छ। क्रिप्टोकरेन्सीले भुक्तानी प्रणालीलाई भने जटिल बनाउन सक्ने देखिन्छ। यस्तै, क्रिप्टो कारोबारले रेमिट्यान्स विदेशिने जोखिम बढाउँदा नेपालको विदेशी मुद्रा सञ्चितिमा नकारात्मक प्रभाव पार्न सक्ने चुनौती भने देखिन्छ।